April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

एमालेको नेतृत्व चयनका लागि आज मतदान हुने

1.1K

कल्की संवाददाता
२०८२ पुष १

काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।

११ औं महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । ओली र पोखरेल दुवैले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

एमालेमा पदाधिकारीमा मात्रै कूल ४२ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको प्रारम्भिक सूची अनुसार पदाधिकारीमा ४२ को उम्मेदवारी परेको देखिन्छ ।

आयोगका अनुसार उपाध्यक्षमा ११ जना, महासचिवमा  २ जनाको उम्मेदवारी परेको छ। यस्तै, उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी पर्दा उपाध्यक्ष र सचिवमा भने धेरै उम्मेदवारी दर्ता भएका छन् ।

५ उपाध्यक्षका लागि ओली समूहबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्वी सुब्बाको उम्मेदवारी दर्ता भएको छ । ओली समूहले प्रस्ताव गरेका प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेका छन् ।

ईश्वर पोखरेल समूहबाट गोकर्ण बिष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । यही समूहले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् । उनी दुवै पक्षको साझा उम्मेदवार बन्न कोसिस गरिरहेका छन् ।

उपमहासचिव पदमा ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी दर्ता भएको छ । पोखरेल समूहबाट योगेश भट्टराई, आनन्द पोखरेल र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।

सचिव पदमा ओली समूहको तर्फबाट पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की र महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।पोखरेल समूहबाट गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल र रचना खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल र पूर्वमन्त्री लालबाबु पण्डितले पनि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।