काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा (एमाले) को ११औँ महाधिवेशन सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज)को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी हुन् ।
आज सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ । यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।’