कल्की संवाददाता हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित विज्ञान–कथा (साइ–फाइ) फिल्म श्रृंखला ‘अवतार’को तेस्रो भाग ‘अवतार: फायर एन्ड ऐश’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरका दर्शकलाई सिनेमाघरतर्फ आकर्षित गरेको छ। यो फिल्मले अमेरिकामा मात्र करिब ८८ मिलियन डलर आम्दानी गर्दै सशक्त सुरुवात गरेको छ।
यद्यपि विश्लेषकहरूले पहिलो सप्ताहन्तमै १०० मिलियन डलरभन्दा बढी कमाइ हुने अनुमान गरे पनि फिल्मको ओपनिङ त्यो अपेक्षाभन्दा केही कम रह्यो। सन् २००९ मा रिलिज भएको पहिलो ‘अवतार’ फिल्मले मुद्रास्फीति समायोजनपछि ११५ मिलियन डलरको ओपनिङ गरेको थियो भने दोस्रो भाग ‘अवतार: द वे अफ वाटर’ ले सन् २०२२ मा १३४ मिलियन डलर कमाएको थियो।
तर अन्तर्राष्ट्रिय बजारमा भने ‘फायर एन्ड ऐश’ ले जबरजस्त प्रदर्शन गरेको छ। अमेरिकाबाहिरका बजारबाट मात्र करिब २५७ मिलियन डलर कमाउँदै फिल्मको कुल विश्वव्यापी सुरुवात ३४५ मिलियन डलर पुगेको छ। कमस्कोरका बजार विश्लेषण प्रमुख पल डर्गाराबेडियनका अनुसार यो फिल्म बिदाको मौसमभर र जनवरीसम्म पनि दर्शकको प्रमुख रोजाइमा रहने सम्भावना छ।
उनका अनुसार, “थ्री–डी, आइम्याक्स र अन्य प्रिमियम फर्म्याटमा ‘अवतार’ एउटा अन्तर्राष्ट्रिय इभेन्ट फिल्म हो, जसलाई ठूला पर्दामै हेर्न दर्शक आकर्षित हुन्छन्।”
तर फिल्मको झण्डै ४०० मिलियन डलरको ठूलो बजेट भने चुनौतीपूर्ण पक्ष बनेको छ। निर्देशक जेम्स क्यामरुनले हालै दिएको अन्तर्वार्तामा ‘फायर एन्ड ऐश’ को व्यापारिक सफलतामै अब चौथो अवतार फिल्मको भविष्य निर्भर रहने बताएका छन्। अपेक्षाअनुसार आम्दानी नआए आगामी भाग निर्माणमा असर पर्न सक्ने उनको भनाइ छ।
पछिल्ला वर्षहरूमा स्ट्रिमिङ प्लेटफर्मको विस्तार र आर्थिक दबाबका कारण सिनेमाघर जाने दर्शक घट्दै आएका छन्। तर ‘अवतार’ जस्ता ठूला ब्लकबस्टर फिल्महरूले आइम्याक्स र थ्री–डी अनुभव खोज्ने दर्शकलाई पुनः हलसम्म तान्ने गरेका छन्। क्यामरुनले सिनेमाघरलाई “फिल्म निर्माणका लागि पवित्र स्थान” भन्दै यसले कहिल्यै पूर्ण रूपमा अन्त्य नहुने बताए पनि आर्थिक रूपमा टिक्न कठिन अवस्था नजिकिँदै गएको चेतावनी दिएका छन्।
यस वर्ष डिसेम्बरमा केही मजबुत प्रदर्शन देखिए पनि हलिउड बक्स अफिस अझै कोभिडअघि (२०१९) को स्तरमा फर्किन सकेको छैन। सन् २०२५ मा अमेरिकी घरेलु बक्स अफिस आम्दानी ८.३७ अर्ब डलर पुगेको छ, जुन २०१९ को तुलनामा २२.५ प्रतिशत कम हो। गत वर्ष ‘बार्बी’ र ‘ओपेनहाइमर’ ले बक्स अफिसमा नयाँ आशा जगाएका थिए र आम्दानी ९ अर्ब डलर नाघेको थियो।
यसै सप्ताहन्तमा एन्जेल स्टुडियोजको धार्मिक एनिमेटेड फिल्म ‘डेभिड’ ले २२ मिलियन डलर कमाउँदै दोस्रो स्थान हासिल गरेको छ। लायन्सगेटको मनोवैज्ञानिक थ्रिलर ‘द हाउसमेड’ ले १९ मिलियन डलर आम्दानी गर्दै तेस्रो स्थानमा रह्यो भने प्यारामाउन्ट पिक्चर्सको पारिवारिक फिल्म ‘द स्पन्जबब मुभी: सर्च फर स्क्वायरप्यान्ट्स’ ले १६ मिलियन डलर कमाएको छ।
विश्लेषकहरूका अनुसार, यी फिल्महरू बिदाको मौसममा आ–आफ्नो दर्शक वर्ग तान्दै थप कमाइ गर्ने सम्भावना राख्छन्। आगामी सप्ताहन्तमा ‘मार्टी सुप्रिम’, ‘सङ सङ ब्लु’ र ‘एनाकोंडा’ जस्ता नयाँ फिल्महरू पनि प्रदर्शनमा आउनेछन्।
यता सिनेमाघर जाने नियमित दर्शकको संख्या भने बढ्दो क्रममा छ। सिनेमा युनाइटेडका अनुसार वर्षमा कम्तीमा ६ फिल्म हेर्ने दर्शकको हिस्सा ३३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २५ प्रतिशत मात्र थियो। पछिल्लो एक वर्षमा सिनेमाघर सुधार र प्रिमियम स्क्रिन, सुविधा सम्पन्न सिट तथा कन्सेसनमा १.५ अर्ब डलर लगानी गरिएको छ, जसले विशेषगरी जेन–जी पुस्तालाई हलतर्फ आकर्षित गरेको देखिन्छ।
विशेषज्ञहरूका अनुसार, अबको पुस्तालाई सिनेमाघरतर्फ तान्न स्टुडियोहरूले नयाँ रणनीति अपनाउन थालेका छन्। पारिवारिक र गेम–आधारित फिल्महरू जस्तै ‘माइनक्राफ्ट मुभी’ र ‘फाइभ नाइट्स एट फ्रेडीज २’ ले भविष्यमा बक्स अफिसलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।







