कल्की संवाददाता काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ आयोजना गर्ने भएको छ । सम्मेलन यही असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेन, सनसिटी, सानेपामा आयोजना हुने महासंघले जनाएको छ ।
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य लिएको छ ।
महासंघका अनुसार संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय कृषक महिला वर्ष’ घोषणा गरेको सन्दर्भमा यो सम्मेलन अझ सान्दर्भिक हुने अपेक्षा गरिएको छ ।
नेपालमा ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू कृषि कार्यमा संलग्न रहेको तथा देशभर सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको महासंघले जनाएको छ । सहकारीमार्फत महिलाहरूले बचत समूहदेखि ठूला वित्तीय संस्थासम्म योगदान पुर्याउँदै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अनुसार सहकारी क्षेत्रले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । साथै, सहकारीले महिलाको निर्णय प्रक्रियामा सहभागिता विस्तार, सामाजिक चेतना अभिवृद्धि तथा अधिकार र स्वास्थ्य शिक्षाको प्रवद्र्धनमा पनि सहयोग पुर्याएको बताइएको छ ।
सम्मेलनका क्रममा नीति संवाद, कार्यपत्र प्रस्तुति, महिला सहकारीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, अन्तर्राष्ट्रिय अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा क्षेत्र अवलोकनलगायत कार्यक्रमहरू हुनेछन् ।
महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । कार्यक्रममा एफएओ नेपाल र हेफर इन्टरनेसनल सह–आयोजक रहनेछन् ।
त्यसैगरी विभिन्न बैंक, सहकारी संस्था तथा संघ–संस्थाहरू साझेदारका रूपमा रहनेछन् भने सातै प्रदेशबाट २०० भन्दा बढी महिला सहकारीकर्मी तथा पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ । भारत, भुटान, थाइल्यान्ड र श्रीलंकालगायत देशका सहकारी अभियन्ता तथा विशेषज्ञहरूको पनि सहभागिता रहनेछ ।
सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गरिनेछ । यस घोषणापत्रले महिला सशक्तीकरण, लैंगिक समानता, दिगो कृषि प्रणाली र सहकारी विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
महासंघले सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।







