April 18, 2026, Saturday
२०८३ बैशाख ५
Nepal 1:37:26 pm
Trending

निगम भन्छ – मागभन्दा बढी आयात भइरहेकोछ, तर सर्वसाधारणलाई भने ग्यास पाउन मुस्किल

850

कल्की संवाददाता
२०८२ माघ २२

काठमाडौँ । नेपाल आयल निगमले बजार मागको तुलनामा बढी ग्यास आयात गरिरहेको दाबी गरेको छ । सिलिन्डर लिन गएका सर्वसाधारणलाई खुद्रा ग्यास बिक्रेताले अझै एक साता सहज नहुने बताउदै आएपनि निगमले भने औषतभन्दा तेब्बर बढी ग्यास आयात भइरहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले दैनिक औसत माग ९० टन भए पनि तीन दिनयता औसतभन्दा बढी आयात भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार शनिबार एक सय १८ बुलेट, सोमबार एक सय १५ बुलेट र मंगलबार एक सय ३२ बुलेट ग्यास इन्डियन आयल कपोरेसनको बरौनी, हल्दिया, मथुरा र पारादिप रिफाइनरीमा लोड भएको छ । सय बुलेटबाट करिब एक लाख २५ हजार सिलिन्डर ग्यास भर्न पुग्छ । अहिले दैनिक औसत माग एक लाख थान सिलिन्डर छ । तर, पछिल्लो समय माग ह्वात्तै बढेका कारण अहिले आयात भइरहेको परिमाणले पनि धान्न मुस्किल भइरहेको हो ।

निगमका अनुसार तीन दिनमा ग्यास लोड भएको बुलेटबाट चार लाख ६२ हजार पाँच सय थान सिलिन्डरमा भरेर बजार पठाउन पुग्नेछ । भट्टले लोड भएका केही बुलेट नेपाल प्रवेश गरिसकेकाले चाँडै सहज आपूर्ति हुने दाबी गरे । ‘आइओसी टर्मिनलमा लोड भएमध्ये केही बुलेट बाटोमा छन् र आजै (बुधबार) नेपाल प्रवेश गर्नेछन् । तसर्थ, उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास स्टक नगरिदिनुहुन अनुरोध छ,’ उनले भने । दुई सातादेखि ग्यास आपूर्ति असहज भइरहेकाले खाली सिलिन्डरसमेत भरेर राख्न थालेका छन् । जसकारण, सामान्य अवस्थाको तुलनामा माग बढेर अहिले आपूर्ति सहज गर्न कठिनाइ भइरहेको निगमको दाबी छ ।

काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा धेरै उपभोक्ता रहेका नेपाल ग्यासले पनि बुधबारबाट कार्यतालिका नै प्रकाशित गरेर ग्यास वितरण थालेको छ । बुधबार काठमाडौं जिल्लामा रहेका ८४ डिलरबाट ६ हजार ८ सय ७० थान ग्यास सिलिन्डर बजार पठाएको कम्पनीले जनाएको छ । भारतमा ग्यास लोडिङसम्बन्धी समस्या पनि हल भइसकेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ग्यास ढुवानीमा प्रयोग भइरहेको भारतीय बुलेटको संख्या घट्दा आयातमा समस्या भएको हो । करिब सात सय बुलेट प्रयोग भइरहेकोमा अहिले डेढ सय बुलेट कटौती भइसकेको ग्यास उद्योग संघले जनाएको छ । भारतीय बुलेट व्यवसायीले ढुवानी भाडा वृद्धि गर्न दबाब दिँदै नेपालमा ग्यास ढुवानीमा समस्या सिर्जना गरेका हुन् । काठमाडौं उपत्यकामा करिब २५ ब्रान्डका ग्यास सिलिन्डर प्रयोगमा छन् ।