April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

मधेसका जिल्लामा ‘हाइ अलर्ट’, स्थिति अझै असामान्य

695

कल्की संवाददाता
२०८२ पुष २२

धनुषाको कमला नगरपालिकास्थित सिंग्याही मडानमा केही दिनअघि दुई युवाले टिकटकमार्फत सार्वजनिक गरेको भिडियोले धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको भन्दै उत्पन्न भएको विवादले उग्र रूप लिएको छ ।

धनुषा हुँदै पर्सासम्म फैलिएको साम्प्रदायिक विवादका कारण वीरगञ्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । उक्त घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१ क) बमोजिम शान्ति सुरक्षा कायम गर्न कफ्र्यु जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा सोमबार साँझ ६ बजेदेखि मगंलबार बिहान ६ बजेसम्म वीरगञ्ज शहर क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस, प्रदर्शन तथा आवत– जावत गर्न निषेध गरिएको छ । प्रशासनले जारी गरेको कफ्र्यु क्षेत्र पूर्वः बाइपास रोड, पश्चिमः सिर्सिया पुल, उत्तरः पावर हाउस चोक र दक्षिण शंकराचार्य गेटसम्म रहेको छ ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन, व्यक्ति तथा गतिविधि सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । स्वास्थ्य सेवा, एम्बुलेन्स, दमकल, सुरक्षा निकायलगायत अत्यावश्यक सेवाका साधनहरू भने अनुमति लिएर सञ्चालन गर्न सकिने जनाइएको छ । कफ्र्यु उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

कफ्र्यु तथा निषेधाज्ञा जारी गरिए पनि त्यसको उल्लंघन गर्दै प्रदर्शन भएपछि वीरगञ्जका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोमबार अलखिया चोक, लाठ गल्ली, मुर्ली चोक र छपकैया चोकलगायत क्षेत्रमा अवस्था तनावपूर्ण बनेको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

सो क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यस्तै, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा स्थानीय पत्रकार श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् ।

आक्रमणका क्रममा पत्रकार साहको मोबाइलसमेत खोसिएको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ । महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन आग्रह गरेको छ । हिन्दु समुदायले जुलुस निकालेपछि र छपकैया क्षेत्रमा मुस्लिम समुदायको प्रदर्शनबाट उत्पन्न तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि कफ्र्यु पनि जारी गरेको छ ।

छपकैया क्षेत्रस्थित ईदगाह चोकमा एक मोटरसाइकलमा आगजनी भएपछि अवस्था झनै तनावपूर्ण बनेको थियो । स्थानीय स्रोतका अनुसार उक्त घटनामा मुस्लिम समुदायका केही व्यक्तिहरू संलग्न रहेको बताइएको छ । शनिबार धनुषाको कमला नगरपालिकास्थित एक मस्जिदमा भएको तोडफोडको घटनापछि मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन भएको छ ।

त्यसयता वीरगञ्जसहित मधेशका विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढ्दै गएको छ । आइतबार मुस्लिम समुदायको प्रदर्शनपछि वीरगञ्जको अवस्था थप तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिनका लागि प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी तथा नेपाली सेनाको टोलीसमेत स्थलगत रूपमा खटिएको प्रशासनले जनाएको छ ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक स्वयं फिल्डमा उत्रिएर सुरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका छन् । अवस्था तनावपूर्ण बनेपछि वीरगञ्जमा सुरक्षा निकायको बाक्लो परिचालन गरिएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न पुनः आग्रह गरेको छ ।