June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

नयाँ वर्ष मनाउनको लागि भारतीय पर्यटकहरू नेपालभित्रँदै

1K

कल्की संवाददाता
२०८२ पुष १६

बारा– अन्तर्राष्ट्रिय नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरू मधेसको स्थलमार्ग हुँदै दैनिक रूपमा नेपाल आउने क्रम बढ्दै गएको छ । नयाँ वर्ष मनाउने उद्देश्यले भारतको विभिन्न राज्यबाट मधेस हुँदै नेपाल प्रवेश गरेका भारतीय पर्यटकहरू नेपालको बागमती, गण्डकीसँगै मधेस प्रदेशमै रमाउन आउने क्रम बढेको हो ।

‘अन्तरदेश सहज प्रवेश, बलियो मुद्रालगायतका कारणले भारतीय पर्यटक नयाँ वर्ष मनाउन नेपाल आउने प्रत्येक वर्ष बढ्दै गएको छ’ होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले भने,‘नयाँ वर्ष बाहेक अन्य पर्व, उत्सव, सामाजिक संस्कार गर्न समेत भारतीयहरू नेपाल आउन थालेका छन् । तर पनि नयाँ वर्षकोे सिजन अन्य समयको भन्दा भारतीय पर्यटक व्यापक आउने गर्दछन् ।’

भारतीय पर्यटकहरूको कारण पर्साको ठोरी, सिमरा, अलेखगञ्ज, पथलैया, भन्द्रपुर, बर्दिबासदेखि सिन्धुलीसम्मका सामान्यदेखि स्तरीय होटल तथा लजहरू पुस महिनाको दोस्रो र तेस्रो सातासम्म बुकिङ उच्च रहने महासंघले जनाएको छ । अन्तिम दिन ३१ डिसेम्बर लक्षित गरी छोटो अनुमति लिएर आउने विहार प्रान्तका भारतीय पर्यटकहरू मधेस केन्द्रित बनेर रमाउने तथा उनीहरूले मदिरा र क्यासिनोमा खर्च गर्ने र नयाँ वर्षलाई स्वागत गर्दे आफ्नो देश फर्कने चलन जस्तै बन्न थालेको नाट्टाका मधेस प्रदेश महासचिव सुदर्शन काफ्लले बताए ।

यो वर्ष नयाँ वर्ष मनाउन मधेसका विभिन्न नाकाबाट करिब १ लाख भारतीय पर्यटक नेपाल भित्रिने नाट्टाका मधेस प्रदेशको दाबी छ । गत शनिबारदेखि मधेसका विभिन्न नाकाबाट देशका प्रमुख शहरसम्म जान परिवारसहित आएका भारतीय साना सवारीहरू राजमार्गमा प्रशस्त देखिन थालेका छन् । भन्सार अनुमतिसहित नेपाल प्रवेश गर्ने भारतीय चारपांग्रे सवारी सोमबार मात्रै प्रदेशमा पाँच सयभन्दा बढी रहेका छन् । यो संख्या नयाँ वर्षको दिनसम्म व्यापक हुने राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी मधेस प्रदेश कार्यालय पथलैयाले जनाएको छ ।

भारतको लखनउदेखि परिवारसहित नयाँ वर्ष मनाउन नेपाल प्रवेश गरेका राजभाई शुक्लाको परिवार पछिल्लो समय मोबाइलमा देखिएको नेपालको रमणीय क्षेत्र पोखरा र चितवन निकुञ्जले आफूहरूलाई आकर्षित बनाएपछि यस वर्षको नयाँ वर्ष नेपालमा मनाउने उद्देश्यले परिवारसहित नेपाल आउन पाएकोमा खुसी छन् । उनले नेपालमा आउन सहज रहेको, धर्म संस्कृति मिल्दोजुल्दो, फरक प्रकृतिको भूभाग, भाषाको समस्या नहुने हुँदा अझ बढी सहज हुने बताउँछन् ।

साना तथा मझौला होटलमा पर्यटकको संख्या बढे पनि मधेसका तारे होटलमा भने व्यापार उत्साहजनक हुन सकेको छैन । भारतीय पर्यटकहरू नेपाल आउने क्रम बढेसँगै भारतीय लक्षित मनोरन्जनका कार्यक्रम मधेसका तारे होटलहरूले आयोजना नगरेपछि चितवन, पोखराले बढी भारतीय पर्यटक तानेको र सानो खर्चका भारतीय मात्रै मधेस वरपरका क्षेत्रमा रहन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

केही वर्षदेखि भारतीय पर्यटकहरूको अवसरका बेला आगमन बढ्दो हुन थालेपछि साना तथा मझौला होटल व्यवसायीहरू उत्साहित बन्दै बढी व्यापार गर्ने उद्देश्यले सस्तोमा सुविधा दिने प्रतिस्पर्धा जस्तै बनेको छ । अन्तर्राष्ट्रिय नयाँ वर्षमा मधेस प्रदेशमा भारतीय नै मुख्य पर्यटक बनेपछि उनीहरूको रुचि अनुसारको अन्य व्यापार समेत मधेसमा बढेको छ । पेट्रोलियम पदार्थसँगै फेन्सी, लत्ताकपडा, मौलिक सामग्रीका उत्पादनहरूको समेत बिक्री बढेको छ ।