कल्की संवाददाता काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि कुल २७ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भएको छ। यसमा गृह मन्त्रालय, निर्वाचन आयोग र सुरक्षा निकायहरूको खर्च समेटिएको छ।
अर्थ मन्त्रालयले निर्वाचन आयोगका लागि ७ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गर्दैछ। सुरक्षा व्यवस्थापनका लागि गृह र रक्षा मन्त्रालयले करिब साढे २० अर्ब रुपैयाँको स्रोत प्रस्ताव गरेका छन्।
हाल केन्द्रीय सुरक्षा समितिले निर्वाचनका लागि १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरिसकेको छ। निर्वाचन प्रहरीको पारिश्रमिक, पोसाक, रासन भत्ता, यातायात खर्च र खाजामा करिब ९ अर्ब १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
त्यस्तै, नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरीका लागि ३ अर्ब ३३ करोड, जिल्ला प्रशासन कार्यालयका लागि ३१ करोड ४६ लाख, गृह मन्त्रालयका लागि ३१ करोड, र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ।
अधिकारिक स्रोतका अनुसार, उक्त प्रस्तावमा अर्थ मन्त्रालयमा छलफल भइरहेको छ र अन्तिम निर्णय पछि बजेट विनियोजन प्रक्रिया अघि बढ्नेछ।







