April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकता

720

कल्की संवाददाता
२०८२ पुष ११

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ । गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने भएको हो । श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा  फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यहाँबाट अलग भएर कात्तिक २ गते उनले निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टी नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ । अहिले आएर श्रेष्ठको पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागेको हो ।  नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागिएको श्रेष्ठले पुष्टि गरिन् ।  उनले भनिन्, ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ ।’ उनले आफूले रेशम चौधरीको पार्टी मिलाएको भनेपनि नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई रञ्जिता श्रेष्ठले स्वीकार गरेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अब्दुल खानले दुई पार्टीबिच एकता हुने तय भएको र पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहने बताए ।  एकीकृत पार्टीको झन्डा तथा चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टी नेपालकै रहने उनको भनाइ छ ।

रेशम चौधरी जेलमा रहेको बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । यो पार्टीले २०७९ को चुनावमा राम्रै नजिता ल्याएको थियो । चौधरी जेलमा हुँदासम्म यो पार्टी ठिकठाक चलिरहेको थियो । २०८० जेठमा रेशम चौधरी रिहा भएपछि पार्टी थप सशक्त रूपमा अगाडि बढ्यो । तर जब २०८० पुसमा पार्टीको महाधिवेशन भयो त्यसपछि पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो ।

रेशम चौधरी महाधिवेशनबाट पार्टीको अध्यक्ष भए, जुन कुरा रञ्जित श्रेष्ठलाई मन परेन । उनी पनि अध्यक्षका आकाङ्क्षी रहेकाले रुष्ट बनेकी थिइन् । आफू पार्टीको अध्यक्षमा चयन नभएपछि रञ्जिता श्रेष्ठ कैलालीस्थित महाधिवशेनस्थल छाडेर काठमाडौँ आएपछि पार्टीको विवाद छताछुल्ल भएको थियो । त्यतिबेला रञ्जिता श्रेष्ठ भूमि मन्त्री थिइन् । यस्तै चौधरी अध्यक्ष भएपछि निर्वाचन आयोगमा मुद्दा पर्‍यो भने अध्यक्षमा आयोगले रञ्जिता श्रेष्ठलाई नै कायम गर्‍यो । रेशम र रञ्जिता श्रीमान्श्री-मती भएपनि पार्टीमा भने विवाद उग्र बनेको थियो ।

विवाद बढ्दै जाँदा पार्टीमा गुटगत राजनीति सुरु भयो । त्यो गुट स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म देखियो । कहिले मुख्यमन्त्रीका लागि विवाद त कहिले मन्त्रीका लागि विवाद भइरह्यो ।

पार्टीभित्रकै विवादका कारण सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले पाउनै लागेको मुख्यमन्त्री पनि पाएन । यस्तै मन्त्रीका लागि पनि विवाद भइरह्यो । त्यही विवादले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीमा विवाद यतिसम्म थियो कि केन्द्रीय समिति बैठक समेत गुटगत भयो । एउटा गुटले बोलाएको बैठकमा अर्को गुट नजाने, अर्कोले बोलाएको बैठकमा अर्को नजाने परिस्थिति सधैँ भइरह्यो । रन्जिता श्रेष्ठले संस्थापक केन्द्रीय समितिलाई मान्यता दिन्थिन् भने रेशम चौधरीले महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई मान्यता दिन्थे ।

एकपटक दुवै जनाको बिचमा कुरा मिलेपछि महाधिवेशबाट बनेको केन्द्रीय समिति र संस्थापक दुवै पक्षको बैठक बसेको थियो । त्यसपछि जनमत पार्टीसँग एकताका लागि छलफल गर्न बैठक बसेको थियो ।यद्यपी पार्टीकै आन्तरिक विवादका कारण जनमत पार्टीसँग अन्तिम समयमा एकता हुन सकेन ।

एकता हुने दिन एउटा नक्कली पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरेपछि एकता प्रक्रिया भाँडिएको थियो । यस्तै पोखराको लिचीबारी जग्गा प्रकरणमा रञ्जिता श्रेष्ठ मुछिएपछि रेशम चौधरीले बैठक बोलाएर त्यसलाई स्पष्ट पार्न माग गरेका थिए । तर, श्रेष्ठले बैठक नै बोलाउन मानिनन् ।

त्यसपछि रेशम चौधरीले केन्द्रीय समितिको बैठकबाट राष्ट्रिय भेला बोलाएका थिए । त्यो भेलाबाट रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि पार्टीको अध्यक्षबाट हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाए । तर निर्वाचन आयोगले मान्यता दिएन । आयोगले संस्थापक सदस्यहरू रहेको नागरिक उन्मुक्ति पार्टीलाई मात्र मान्यता दिएको थियो ।आयोगबाट समेत श्रेष्ठले नै मान्यता पाएपछि वाक्क दिक्क भएर चौधरीले त्यहाँबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका हुन् । अहिले पाँच महिनापछि आएर पुनः रञ्जिता र रेशमको पार्टीबिच एकता हुन लागेको हो ।