April 23, 2026, Thursday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

ओलीलाई पोखरेलको आग्रह : पार्टी र देशलाई नोक्सान हुन नदिन नेतृत्वबाट विदा लिनुहोस्

780

कल्की संवाददाता
२०८२ मंसिर २८

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी, कम्युनिस्ट आन्दोलन र मुलुकलाई थप नोक्सान हुन नदिन नेतृत्वबाट बिदा लिन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। एमालेको महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पोखरेलले नेतृत्व हस्तान्तरण गरेर संरक्षक वा अभिभावकको भूमिकामा रहेर पार्टीलाई राजनीतिक मार्गदर्शन दिन ओलीसँग आग्रह गरेका हुन्।

पोखरेलले ओलीको लामो नेतृत्वकाल स्मरण गर्दै भने, “तपाईं ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो। २०७२ देखि २०८२ सम्मको १० वर्षमा ६ वर्ष मुलुकको प्रधानमन्त्री बन्नुभयो। अब कमरेड, उधौली सुरु हुँदैछ। यो उधौलीले तपाईं अध्यक्ष, हाम्रो पार्टी, आन्दोलन र मुलुकलाई नोक्सान गर्छ कि भन्ने चिन्ता मलाई लागेको छ।” उनले ओलीको निरन्तरताले थप क्षति हुन सक्ने आशंका व्यक्त गर्दै आफू भित्रैदेखि चिन्तित भएको बताए।

आफू निष्ठा र निरन्तरतामा बाँचेको व्यक्ति भएको उल्लेख गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पार्टीमा सक्रिय भएर काम गर्ने क्रममा अवरोध भएको र आफ्नै पार्टीभित्र तेजोबध गरिएको अनुभूति भएकोसमेत बताए। उनले पार्टीभित्र स्वस्थ बहस र नेतृत्व हस्तान्तरण आवश्यक रहेको धारणा राखे।

पोखरेलको अभिव्यक्तिलाई एमालेभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहस चर्किने संकेतका रूपमा हेरिएको छ। महाधिवेशनको बन्दसत्रमा आएको यो भनाइले पार्टीको आगामी नेतृत्व र दिशा बारे गम्भीर प्रश्न उठाएको छ।