May 31, 2026, Sunday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending

सिक्री लुट्ने ‘टासी बाबु’ : अपहरणबाट युवा संघ, अनि पुनः पेस्तोलको यात्रा—

1.7K

कल्की संवाददाता
२०८२ मंसिर ११

११ मंसिर, काठमाडौं ।
नेपालको राजनीतिक गल्लीमा कभी–कभार यस्ता पात्र भेटिन्छन्, जो अपराधबाट कम, अभूतपूर्व अवसर बाट धेरै ठूला बन्छन् । कहिले लडाइँमार्फत, कहिले लुटमारमार्फत, अनि अन्त्यमा— ठीकै राजनीतिक झोला बोकेर । आजको कथा यस्तै एक ‘अद्वितीय प्रतिभा’ का बारेमा हो— टासी गुरुङ, जो पहिले ‘बाबुराजा अपहरण’ मा १२ वर्ष कैद बसे, छुटेर निस्कँदा युवा संघको केन्द्रीय सदस्य बने, अनि अहिले फेरि सिक्री लुट्दै गिरफ्तार भएका छन्।

राजनीति र अपराधको ‘स्वाभाविक सहअस्तित्व’ को उत्कृष्ट अध्ययन–केस लमजुङ–दोर्दीका टासी गुरुङ १२ वर्ष जेल काटेर निस्किएपछि जीवनका दुई बाटो थिए—पुनर्स्थापना, अथवा पुनःस्थापना **(राजनीतिक संरक्षणमार्फत ‘अपग्रेड’)।

टासीले दोस्रो रोजे।**

जेलबाट बाहिरिएको भोलिपल्टै जस्तै उनी युवा संघको केन्द्रीय सदस्य बने— मानौँ १२ वर्षको कैद उनको सीभीको ‘सबभन्दा प्रभावशाली अनुभव’ भएको थियो। ‘जेल अनुभव’ लाई ‘संगठनको पात्रता’ मान्ने हाम्रो राजनीतिक संस्कृति टासीको उदयसँगै फेरि एक पटक उजागर भयो। सिक्री लुट्ने दिन : क्रिकेट हेर्न गएको युवकले ‘स्टेडियमकाे टिकट पाएन’ र…१ मंसिर दिउँसो, टासी क्रिकेट हेर्न कीर्तिपुर पुगे। टिकट पाएनन्। सामान्य मानिस घर फर्कन्छन्, उनी फर्कँदै गर्दा पेसा बदल्छन्।

हल्चोक छेउ पुग्नासाथ एक महिलाको सिक्री देखे—
“मैदानमा टिकट छैन, तर गलामा टिकेट जस्तो चम्किलो सिक्री छ,” भन्ने प्रेरणा आएको जस्तो भयो।
स्कुटर रोकियो, सिक्री थुतियो— अनि टासी फेरि ‘पुरानो पेशा’ मा फर्किए। प्रहरीले पक्राउ गर्दा टासीसँग पेस्तोलदेखि खुकुरीसम्म, स्क्रुड्राइभरदेखि चोरीका स्कुटरसम्म सबै ‘अत्याधुनिक उपकरण’ फेला पारेको छ। मानौँ कुनै साधारण लुटेरा होइन— पूर्ण–प्याकेज गुण्डा–सम्पूर्ण–सामग्री सहित।

अपहरणमा ‘सोल्टी’ नामले चिनिने टासी : बाबुराजाको १.५ करोडको कथा टासीको ‘पुरानो पोर्टफोलियो’ हेर्दा अहिलेको सिक्री लुटपाट त ट्रेनी लेभल मात्र हो।

२०६५ मा भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा टासी मुख्य टोलीमा थिए।
त्यसबेला उनी ‘सोल्टी’ नामले परिचित।टिम नाइके भारतीय उदय सेट्टी— जुन पात्र सुन्दा नै कुनै बलिउडको भिलेनजस्तै। बाबुराजा अपहरण केसमा-चोरीका गाडी,मोटरसाइकल,अपहरणको ‘लजिस्टिक’सब प्रल्हादमार्फत चलेको थियो। टासी, विष्णु जिसी, विकास ‘बंगुरे’ कार्की, दुर्गाबहादुर ‘सोले’ बुढाथोकी, अनिल गुरुङ… सबैसँग मिलेर १ करोड ५० लाख उठाइएको थियो।

राजनीतिक संरक्षण : १२ वर्ष जेलबाट सीधा ‘केन्द्रीय सदस्य’—

२०७७ मा जेलमुक्त भएपछि टासीले राजनीतिक अग्रगमनको ‘तिब्र मार्ग’ समाते—युवा संघको केन्द्रीय सदस्य। दुई कार्यकालसम्म उनी युवा नेताको भूमिकामा सक्रिय रहे। यही पृष्ठभूमिमा उनी लमजुङमा ढुंगा–गिट्टी उत्खनन, ठेक्का कमिशन, स्थानीय गुण्डागर्दी जस्ता ‘समाजसेवी’ गतिविधिमा सक्रिय भएको अनुसन्धानमै खुलेको छ। उता, एमालेको खेलकुद विभागले उनलाई सदस्य बनाउन सिफारिस गरेका थिए—मानौँ खेलकुदमा पनि ‘तर्साउने एथलेटिक्स’ चाहिएको हो। राजनीति : जहाँ ‘समाज सञ्चालन’ र ‘अपराध सञ्चालन’कहिलेकाहीँ एउटै कोठाबाट चल्छ टासीको कथा कुनै व्यक्तिको मात्र कथा हैन— यो हाम्रो राजनीति, हाम्रो संरचना, र हाम्रो मौन स्वीकृतिको कथा हो।

१२ वर्षको अपराध, फिरौती, अपहरण—यसलाई ‘भत्किएको भविष्य’ मान्ने ठाउँमा हामीले यसलाई राजनीतिक पूँजी बनाइदियौँ। अनि आज—सिक्री लुट्ने, पेस्तोल बोक्ने, स्कुटरबाट भाग्ने टासी पक्राउ परेपछि राजनीतिक दलहरू पनि ‘थाहा थिएन’ भन्ने मोडमा उभिएको देखिन्छ।

समाजमा ‘युवा नेतृत्व’ को माग भइरहँदा राजनीतिक दलले देखाएको विकल्प—जेल–पास भएका अनुभवी व्यक्तिहरू। यदि यही गतिमा चल्यो भने भोलि कुनै दिन अपराध र राजनीति छुट्याउन संविधानकै नयाँ संशोधन चाहिन सक्छ। किनकि—टासीहरूलाई अपराधले होइन, राजनीतिक संरक्षणले शक्तिशाली बनाएको हो।