October 25, 2026, Sunday
२०८३ कार्तिक ९
Nepal 1:37:26 pm
Trending

फागुन ११–१३ मा महाधिवेशन गर्ने एनआरएनएको निर्णय

1K

कल्की संवाददाता
२०८२ मंसिर २९

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुनमा काठमाडौँमा गर्ने निर्णय गरेको छ।
संघको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।

कमिटीको निर्णय अनुसार संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ (विसं २०८२ फागुन ११, १२ र १३ गते) आयोजना हुनेछ। संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाद्वारा जारी विज्ञप्तिमा स्टेरिङ कमिटीले आफ्नो कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको र सोही सिलसिलामा महाधिवेशनको मिति तय गरिएको उल्लेख छ।

बैठकले महाधिवेशनको मिति मात्र तय नगरी सांगठनिक एकतालाई निष्कर्षमा पुर्‍याउन विभिन्न निर्णयहरू समेत गरेको छ। जसअनुसार राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकता सहजीकरणका लागि गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ। उक्त समितिको सह-संयोजकमा टीका गुरुङ (राधिका) तथा सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।
यसैगरी, संघले बृहत् एकताको सन्देश प्रवाह गर्न र आवश्यक छलफलका लागि क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

बैठकले सदस्यतासम्बन्धी विषयलाई व्यवस्थित बनाउन पाँच सदस्यीय कमिटीमा दुई जना थप गरी सात सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, अनुशासन र प्रतिवद्धतालाई प्राथमिकता दिँदै स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठकसम्म अनिवार्य रूपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने नियम बनाइएको छ। तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यले आगामी बैठकमा सहभागिता जनाउन नपाउने निर्णय समेत बैठकले गरेको छ।

संघले १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन विश्वभर छरिएका सम्पूर्ण गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सम्बन्धित सबै पक्षलाई आ–आफ्नो स्थानबाट जिम्मेवार भई सहयोग गर्न आह्वान गरेको छ। बैठकले महाधिवेशनको तयारी, समन्वय र कार्यान्वयनका कामहरू तत्काल सुरु गर्नसमेत निर्देशन दिएको छ।