April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

स्पेनमा रेल दुर्घटना २१ जनाको मृत्यु

770

कल्की संवाददाता
२०८२ माघ ५

काठमाडौँ । दक्षिणी स्पेनमा आइतबार साँझ दुईवटा उच्च–गतिका  रेलगाडी आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। रेल सञ्जाल सञ्चालक एडीआईएफका अनुसार मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको एउटा उच्च–गति रेलगाडी पटरीबाट उत्रिएर छेउको अर्को ट्र्याकमा पुगेपछि दुर्घटना भएको हो। त्यही क्रममा सो रेल अर्को रेलसँग ठोक्किएको थियो।

विपरीत दिशाबाट म्याड्रिडबाट हुएल्भातर्फ जाँदै गरेको अर्को रेलगाडी पनि दुर्घटनापछि पटरीबाट उत्रिएको थियो। एन्डालुसियाको आपतकालीन सेवाले कम्तीमा ७३ जना गम्भीर रूपमा घाइते भएको जनाएको छ। राहतकर्मीहरू पटरीबाट उत्रिएका डिब्बाभित्र फसेका यात्रुहरूलाई उद्धार गर्ने काममा निरन्तर लागिरहेका छन्। एडीआईएफका अनुसार मालागाबाट स्थानीय समयअनुसार साँझ ६ः४० बजे प्रस्थान गरेको करिब १० मिनेटपछि यो दुर्घटना भएको हो। कम्पनीले पीडितका आफन्तहरूका लागि अतोचा, सेभिया, कोर्डोबा, मालागा र हुएल्भा स्टेशनहरूमा विशेष व्यवस्था गरिएको जनाएको छ।

दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएको छ। प्रभावित यात्रुहरूका लागि टर्मिनलहरू रातभर खुला राखिने पनि कम्पनीले बताएको छ। मालागाबाट यात्रा सञ्चालन गर्ने निजी रेल कम्पनी इर्योले रेल पटरीबाट उत्रिएको पुष्टि गर्दै करिब ३०० जना यात्रु सवार रहेको जनाएको छ। एजेन्सी