कल्की संवाददाता काठमाडौँ। सुडानको डारफुर क्षेत्रमा रहेको एक अस्पतालमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ, जसमा १३ जना बालबालिका रहेका छन् ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले शनिबार सामाजिक सञ्जालमार्फत जनाए अनुसार शुक्रबार राति पूर्वी डारफुर राज्यको राजधानी अल-दाइनस्थित अल-दाइन शिक्षण अस्पतालमा भएको आक्रमणमा धेरै बिरामी, दुई महिला नर्स र एक पुरुष चिकित्सक पनि मारिएका छन् ।

उनका अनुसार उक्त आक्रमणमा आठ स्वास्थ्यकर्मीसहित ८९ जना घाइते भएका छन् । आक्रमणका कारण अस्पतालको बालरोग, प्रसूति तथा आकस्मिक कक्षमा गम्भीर क्षति पुगेको छ, जसले गर्दा अस्पताल पूर्ण रूपमा सञ्चालनविहीन भएको छ र शहरमा अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध भएको छ । टेड्रोसका अनुसार यस घटनासँगै सुडानको युद्धका क्रममा स्वास्थ्य संस्थामाथि भएका आक्रमणसँग सम्बन्धित मृतकको संख्या २ हजार नाघेको छ ।
करिब तीन वर्षदेखि जारी सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको द्वन्द्वमा डब्लुएचओले २१३ वटा आक्रमणमा २ हजार ३६ जनाको मृत्यु पुष्टि गरेको छ । आक्रमण कसले गरेको भन्नेबारे तत्काल जानकारी प्राप्त भएको छैन ।

दुवै पक्षमाथि युद्ध अपराध तथा मानवताविरुद्धका अपराध गरेको आरोप लागेको छ । विशेषगरी आरएसएफमाथि डारफुर क्षेत्रमा संयुक्त राष्ट्रसंघका विज्ञहरूले नरसंहारको संकेत देखिने अत्याचार गरेको आरोप लगाएका छन् ।
टेड्रोसले भनेका छन्, ‘पर्याप्त रगत बगिसकेको छ, पर्याप्त पीडा भोगिएको छ । अब सुडानमा द्वन्द्व कम गर्ने र सर्वसाधारण, स्वास्थ्यकर्मी तथा मानवीय सेवामा संलग्न व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्ने समय आएको छ ।’







