October 25, 2026, Sunday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव अर्याल सिफारिस

2.1K

कल्की संवाददाता
२०८२ मंसिर १४

काठमाडौँ । प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिँहदरबारमा बसेको समितिको बैठकले आवश्यक मूल्याङ्कन र मापदण्ड पूरा गरेका अर्याललाई एकल नामसहित अघि बढाउने निर्णय गरेको हो।

हाल अर्याल सुदूरपश्चिम प्रदेशमा कार्यरत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कायम मुकायम प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत छन्।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा चार चोटीसम्म हुने बढुवामा तीन जना वरिष्ठ सहसचिव सिफारिस हुने व्यवस्था छ भने पाँचौँ पटक ज्येष्ठताका आधार (२० प्रतिशत)मा एक जना मात्र सिफारिस हुने प्रावधान छ। सो प्रावधानअनुसार यसपटक सबैभन्दा ज्येष्ठ सहसचिव रहेका शर्माको नाम मात्र सिफारिस गरिएको हो।

मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि दुई सचिव पद रिक्त भएका थिए। तीमध्ये पहिलो पदमा कायम मुकायमका रूपमा सुदूरपश्चिममा खटाइएका वैकुण्ठ अर्याल स्वाभाविक रूपमा एकल बढुवामा पर्नेछन्।

अर्को रिक्त पदका लागि तीन वरिष्ठ सहसचिवमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेल पहिलो नम्बरमा रहेका छन्। सरकारले हालसम्मकै बरियतापथलाई निरन्तरता दिने हो भने आगामी मन्त्रिपरिषद् बैठकबाट पौडेल पनि सचिवमा बढुवा हुने प्रबल सम्भावना छ।

अब बसेर आउने मन्त्रिपरिषद् बैठकले समितिको सिफारिसअनुसार सहसचिव अर्याललाई सचिवमा बढुवा गर्ने औपचारिक निर्णय गर्नेछ।