कल्की संवाददाता १० मंसिर २०८२, काठमाडौं
जेन–जी आन्दोलनका उग्र क्षणहरूबीच सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विशेष अपरेशनमार्फत नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार ढुंगेल घटनास्थलमा सक्रिय रुपमा देखिएका दृश्य–प्रमाण र प्रत्यक्षदर्शीका बयानका आधारमा पक्राउ परेका हुन्। उनी पूर्व माओवादी पृष्ठभूमिका नेता रहेको पनि प्रहरीले पुष्ट गरेको छ।
यसअघि यही प्रकरणमा पाँच जना पक्राउ परिसकेका थिए। ढुंगेल समातिएसँगै सर्वोच्च आगजनी आरोपमा पक्राउ पर्नेको संख्या छ पुगेको छ।
सर्वोच्च अदालत जलाउने समूहलाई पहिचान–खोजी गरी पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त विशेष टोली गठन गरेर अपरेशन सञ्चालन गर्दै आएका छन्। अधिकारीहरूका अनुसार अझ केही संलग्न व्यक्तिहरूको खोजी द्रुतगतिमा अघि बढाइरहेको छ।
घटनापछिको संवेदनशीलता, सुरक्षामाथिको प्रश्न र आन्दोलनको उग्रताप्रति बढ्दो चासोबीच यो पक्राउलाई महत्वपूर्ण प्रगति मानिएको छ।







