कल्की संवाददाता मधेशका एक उदियमान कलाकारले गाएको एक साधारण तर हृदयविदारक गीत“जेनजी आन्दोलन हाइज्याक भयो, खै कताबाट मन्त्री सेलेक्ट भयो, जेनजीको मुद्दा डिलेट भयो”अहिले सामाजिक सञ्जालभरि गुञ्जिन थालेको छ ।
हिजो साँझ काठमाडौंको एउटा क्याफेमा पत्रकार विनय आजादसँग चियाको गफ चलिरहेको बेला जन्मिएको यो गीत कलाकारले फेसबूकमा पोस्ट गरेसँगै व्यापक ढंगले फैलिन थालेको हो । ख्यालठट्टामा जन्मिए पनि गीतमा समेटिएको बेदना, वितृष्णा र जेनजी पुस्ताको अधुरो पीडा भने एकदमै वास्तविक छ । शायद यही कारणले धेरैलाई स्पर्श गरिरहेको छ।
कलाकारले गीतमार्फत जेनजी आन्दोलनमा देखिएको शंकास्पद परिदृश्य, नेतृत्व तहको अपारदर्शिता र ‘बलिदानी युवाहरूको भावनासँग खेलबाड’ भएको आरोपलाई कलात्मक तर गहिरो शैलीमा सार्वजनिक गरेका छन्।
उनका शब्दहरू असल नीति र परिवर्तनको लागि उठेको युवाहरूको विद्रोह कसरी मुठीभर शक्तिकेन्द्रित पात्रले ‘हाइज्याक’ गरिदिए भन्ने प्रश्नसँग सिधै जोडिन्छन्। उनी भन्छन् “जेनजीको बलिदान मुठीभर गिरोहको विलासिता र सत्तामोहका लागि होइन। प्रश्न उठाउन जरुरी छ,मुलुकलाई फेरि सही बाटोमा ल्याउन जरुरी छ।”
गीतमा एउटा पुस्ताको आक्रोश मात्रै छैन, विश्वस्तताको बन्द ढोका तोडियोस् भन्ने आशा पनि छ। युवाहरूले रगत पसिना बगाएर ल्याएको मुद्दा ‘डिलेट’ भएको अनुभूति, त्यसको ढाटिएको दिशा, र आन्दोलनकै नाममा ठालु प्रवृत्ति हावी भएको निराशालाई उनले सुरिलो तर तिक्त स्वरमा उतारेका छन्।
फेसबूकमा पोस्ट भएको केही घन्टामै सयौँ प्रतिक्रियाले स्पष्ट पारेको छ। यो गीत कुनै मनोरञ्जन होइन, यो एक पुस्ताको मनभित्र थामिन नसकेको साँचो चीत्कार हो।
जेनजीका मागहरू अझै अधुरा छन्, तर यस्तो चेतनाको गीतहरूले चेतनाको ज्वाला पुनः प्रज्वलित गरिरहेको छ।
“आऊ, प्रश्न गरौं।
आऊ, आन्दोलनको आत्मा जोगाऔँ।
आऊ, देशलाई फेरि लिकमा ल्याऔँ।”







