June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

530

कल्की संवाददाता
२०८२ फाल्गुन २७

काठमाडौँ । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्था व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरिएको छ। आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको छ।

बैठकले भरतपुर महानगर क्षेत्रका विभिन्न यातायात व्यवसायी संस्थाका टिकट काउण्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने स्पष्ट पारेको शर्माले बताए। नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्नुपर्ने र पुल्चोक लगायतका बजार क्षेत्रभित्रका पेट्रोल पम्पमा पेट्रोल हाल्ने नाममा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको उनले बताए।

यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले ती निर्णयहरू कडाइका साथ कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षलाई निर्देशन दिइएको बताए।