June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending

प्रधानमन्त्री प्रस्ताव भए पनि शक्ति बाँडफाँडमै भाँडियो रवि–बालेन सहकार्य

805

कल्की संवाददाता
२०८२ पुष १२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शुक्रबार अबेरसम्म चलेको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव अघि सारेपछि सहमति नजुटेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने पार्टीको सभापति रहने र भावी प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति बनेको थियो। तर पार्टीको केन्द्रीय समिति गठन र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटमा आधा–आधा हिस्साको माग आएपछि वार्ता रोकिएको हो।
‘प्रधानमन्त्रीको प्रस्तावसम्म त कुरा मिलेको थियो, तर संगठनात्मक संरचना र उम्मेदवार चयनमा ५०–५० प्रतिशत हिस्साको अडानपछि सहमति सम्भव भएन,’ स्रोतले बतायो।

शुक्रबार सहमति नजुटेपछि बालेन शाहले उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङसँग छलफल गरेर पुनः वार्तामा बस्ने तयारी भएको बताइएको थियो। तर शनिबारसम्म रास्वपा र बालेन पक्षबीच पुनः वार्ता हुन सकेको छैन। शनिबार बिहान कुलमान र बालेन समूहबीच छलफल भएको भए पनि त्यसबाट कुनै ठोस प्रस्ताव बाहिर नआएको रास्वपा पक्षले जनाएको छ।

रास्वपा स्रोतका अनुसार शनिबार बालेनसँग बस्ने भनिए पनि छलफलको कुनै निश्चित समय तय हुन सकेको छैन।
‘आज कुनै समूहसँग औपचारिक छलफल भएको छैन। रवि र बालेनबीच पनि आजै वार्ता हुने सम्भावना देखिँदैन,’ स्रोतले भन्यो, ‘समानुपातिक बन्द सूची बुझाउने समय पुस १४ गतेसम्म भएकाले तत्काल हतारिनुपर्ने अवस्था पनि छैन।’

यता बालेन समूह भने कुलमान घिसिङको प्रतिक्रिया र सहमतिको प्रतीक्षामा रहेको बताइएको छ। साथै, बालेन पक्षले रेशम चौधरी र जनमत पार्टीका नेता सिके राउतलाई समेत समेटेर फराकिलो वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ, जसले सहमति प्रक्रियालाई थप जटिल बनाएको छ।

मंगलबार रातिदेखि रास्वपाको राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहका कुमार बेन, स्वकीय सचिव भूपदेव शाहलगायतका नेताहरूबीच लगातार छलफल भए पनि अहिलेसम्म ठोस निष्कर्ष निस्कन सकेको छैन।

वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सम्भावित सहकार्यलाई लिएर चासो बढिरहेका बेला पावर सेयरिङ, संगठनात्मक नियन्त्रण र नेतृत्वको भूमिकाबारे स्पष्ट सहमति नजुट्दा रास्वपा–बालेन वार्ता अझै अनिश्चित देखिएको छ।