कल्की संवाददाता काठमाडौँ । नेदरल्यान्ड्स आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपाललाई २ रनले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सम्पूर्ण ७ विकेट गुमाउँदै १३८ रन बनायो ।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन । त्यस्तै सीता रना मगरले २७ रनको योगदान गरिन् । नेपालका लागि विन्दु रावलले १८ रन बनाउँदा कविता जोशीले १३ रनको योगदान गरिन् । नेदरल्यान्ड्सका लागि इसाबेल भ्यान डेर वोनिङले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै सिल्भर सिजर्स, रोबिन रिजके र क्यारोलिन डे लैङ्गले एक एक विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बाबेट डे लीडेले सर्वाधिक ४९ रनको योगदान गरिन् । ४७ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै स्टेरे कलिसले ३० रन बनाउँदा रोबिन रिगेले १९ रन र हेदर सिजर्सले १३ रन जोडिन ।
नेपालका लागि रुविना क्षेत्रीले दुई विकेट लिँदा सुमन विष्ट, पूजा महत्त्व र रिया शर्माले एक–एक विकेट लिइन् । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले प्रतियोतिगामा लगातार तेस्रो जित निकाल्दै ६ अंक जोडेर सुपर सिक्समा स्थान बनाएको हो । यता नेपालको भने यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।







