June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

देश राजनीति हो कि व्यापार ?, रवि–बालेन सहमतिमाथि दुर्गा प्रसाईंको कडा प्रश्न

990

कल्की संवाददाता
२०८२ पुष १३

काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सात बुँदे सहमतिलाई भागबण्डाको राजनीति को संज्ञा दिएका छन्। देशलाई आफ्नो नम्बरी जग्गाजस्तै सम्झेर सम्झौता गर्ने संस्कारलाई अब राजनीति भन्ने कि व्यापार भन्ने भन्ने गम्भीर प्रश्न उनले उठाएका छन्।

नाम नलिएर रवि लामिछानेतर्फ संकेत गर्दै प्रसाईंले ७० लाख सहकारी पीडित अझै न्यायको प्रतीक्षामा रहेको, तर सत्ता र पदको खेलमा पीडितको आँसु कहिल्यै एजेन्डा नबनेको टिप्पणी गरेका छन्। उनका अनुसार सत्ता मिल्दा न्याय, उत्तरदायित्व र नैतिकता बारम्बार हार्दै गएका छन्।

त्यसैगरी बालेन शाहप्रति लक्षित गर्दै उनले पश्चिमा शक्तिहरूको डिजाइनमा देशको प्रणाली जलिरहेको आरोप लगाएका छन्। सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको अराजकता, निर्दोष नागरिकको ज्यान, हजारौँ घाइते र ८२ खरबभन्दा बढीको राष्ट्रिय सम्पत्तिको क्षतिलाई केवल राजनीतिक संक्रमणको नाममा मेट्न नमिल्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत प्रसाईंले Gen Z र नयाँ पुस्तालाई विशेष सन्देश दिँदै राजनीति लाइभ, भाषण र ट्रेन्डमा सीमित नभई देशको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्। भागबण्डाको राजनीतिले देश नबन्ने र देश बचाउन चरित्र आवश्यक हुने उनको निष्कर्ष छ।

उनले व्यक्ति र दलभन्दा माथि उठेर प्रणाली परिवर्तन गर्न, डरभन्दा सत्यको पक्षमा उभिन र देशलाई साझा जिम्मेवारीका रूपमा जोगाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।