कल्की संवाददाता बुधबार एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन–जी युवामाथि हातपात गर्ने एमाले कार्यकर्तालाई कारबाहीको माग गर्दै कैलालीका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । उनीहरूले बस्नेतलाई पनि पक्राउको माग राखेका छन् ।
कैलालीकाे धनगढी, लम्कीलगायतका क्षेत्रमा प्रदर्शन गरिएको हो । लम्की चोकमा जेन-जी युवाहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन् । धनगढीमा जिल्ला प्रशासन कार्यालयअघि प्रदर्शन गरिएको छ ।

जेन–जी युवाहरूले जिल्ला प्रशासन कार्यालयलाई लिखित रूपमै शान्तिपूर्ण आन्दोलनमा भएको दमनबारे छानबिन तथा कारबाही गर्न माग गरेका थिए । घटनापछि दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले छ्लफलका लागि बोलाएको थियो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घटनाबारे छुट्टाछुट्टै छलफल भएको बताए । ‘जेन-जीहरूले आफूहरूमाथि आक्रमण भएको र दोषीलाई पक्राउ गर्नुपर्ने माग राखेका छन्, हामीले पक्राउ गर्छु भनेका छौँ,’ उनले भने ।

बुधबार एमाले नेता बस्नेतको विरुद्वमा जेन–जी युवाहरूले प्रदर्शन गरेका थिए । सोही क्रममा युवा संघका कार्यकर्ताले जेन–जी युवाहरूमाथि हातपात गरेका थिए । घटनामा जेन-जी अगुवा सरिता जोशीको लडेर हात भाँच्चिएको छ ।







