कल्की संवाददाता काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक भनिएका रास्वपा, उज्यालो नेपाल लगायतका पार्टीको एकताले एमालेलाई फरक नपर्ने दाबी गरेका छन् । नयाँ भनिएका दलको एकता घैँटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा गरेजस्तो हुने उनको भनाइ थियो ।
मदन-आश्रिम स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले बलियासँग प्रतिस्पर्धा गर्न दुब्लाले गरेको एकताले कांग्रेस–एमालेलाई फरक नपर्ने बताएका हुन् ।
‘विशाल एमाले देखेपछि तिमी र म मिलौं भनेका छन्, कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको सिकार हुन्छ ?’, ओलीले भने, ‘बलियासँग लड्न दुब्लाले एकता गर्ने हो, रातिसम्म अर्को एकता हुन्छ । अस्ति पनि भयो, हिजो पनि भयो, आज पनि एकता भयो ।’
ओलीले लोकप्रियतावादीको सामना गर्न महाधिवेशनपछि एमाले तयार भएको दाबी समेत गरे । ‘२–४ जना मिलेर घैँटामा बोकेका पानीले महासागरसँग प्रतिस्पर्धा कसरी होला ? त्यही तयारी नेकपा एमालेको महाधिवेशनले गरेको छ’, ओलीले भने ।
महाधिवेशनजस्तै चुनावमार्फत् को लोकप्रिय छ भन्ने फैसला गर्ने ओलीले बताए । ‘देशमा को लोकप्रिय भन्ने प्रतिस्पर्धा छ, प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं, कहिले होला फागुन २१, वैशाख या अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं’ ओलीले भने, ‘जस्तो महाधिवेशनबाट धेरै कुराको जवाफ दिएका छौं, निर्वाचनबाट नै राष्ट्रिय फैसला दिनेछौं, त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’







