May 31, 2026, Sunday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending

कलाकार शाह समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिई काठमाडौँ-५ बाट प्रत्यक्ष लड्ने

1.4K

कल्की संवाददाता
२०८२ पुष १९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट कलाकार आशिफ शाहले पनि नाम फिर्ता लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्–’राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म। तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ। आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।’

उनी थप लेख्छन्– ‘म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको  थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ। त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो। तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो। सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।’

‘देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ‘ उनले भने । उनले काठमाडौँ ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् ।