कल्की संवाददाता काठमाडौँः अब डिजिटल वालेट खल्ती मार्फत सहजै नेपाल टेलिकमको ई(सिम लिन सकिने भएको छ । खल्तीले नेपाल टेलिकमसँगको सहकार्यमा प्रयोगकर्ताको सहजताका लागि यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ ई–सिम लिनका लागि सबैभन्दा पहिला आफ्नो मोबाइल फोनले ई–सिम सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा निश्चित गर्नुपर्ने हुन्छ । त्यसका लागि फोनमा *#06# डायल गर्नुहोस् । यदि त्यहाँ आईएमईआई नम्बरसँगै ईआईडी नम्बर पनि देखिन्छ भने तपाईंको फोनमा ई–सिम चल्छ भन्ने बुझिन्छ ।
ध्यान दिनुपर्ने कुरा के छ भने खल्तीमार्फत हाललाई पुरानो सिमलाई ई(सिममा परिवर्तन गर्न मिल्दैन, केवल नयाँ ई-सिम मात्र लिन सकिन्छ । साथै, खल्ती अकाउन्ट जुन व्यक्तिको नामबाट प्रमाणित गरिएको छ, सिम पनि उसैको नाममा मात्र प्राप्त हुनेछ र एक पटक खरिद गरिसकेपछि रकम फिर्ता हुँदैन ।
विवरणहरू प्रमाणित भइसकेपछि प्रयोगकर्ताले उपलब्ध गराएको ईमेलमा ई–सिमको क्यूआर कोड पाउने कम्पनीले उल्लेख गरेको छ । उक्त कोडलाई आफ्नो मोबाइलबाट स्क्यान गरेपछि ई(सिम एक्टिभ हुनेछ ।







