April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
Trending

आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, यस वर्ष माघ १८ गते समापन हुने

1.4K

कल्की संवाददाता
२०८२ पुष १९

काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ । यस वर्ष आजबाट आरम्भ भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । यस अवधिमा व्रत बस्दा वा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ ।

पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेकी थिइन् । लामो समयसम्म व्रत, साधना र संयमको अभ्यासपछि पार्वतीको मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको शास्त्रहरूमा उल्लेख छ । यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ ।

मार्कण्डेय पुराणको हिमवत् खण्डमा यस व्रतको विधि, महत्त्व र कथाहरू विस्तारपूर्वक वर्णन गरिएको छ । यस व्रतले सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ । परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि श्रीस्वस्थानी व्रत बस्ने गर्दछन् । अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह तथा जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ । पछिल्लो समय अध्ययनमा सफलता, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले यो व्रत बस्ने गरेका छन् । श्रीस्वस्थानी व्रतलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्म शुद्धिको माध्यमका रूपमा लिइन्छ ।

व्रत सुरु गर्ने विधि

शास्त्रीय विधानअनुसार श्रीस्वस्थानी व्रत सुरु गर्नुभन्दा एक दिनअघि हात–खुट्टाका नङ काटी, शरीर शुद्ध गरी एक छाक मात्र भोजन गर्नुपर्दछ । पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै उठी पवित्र नदी, खोला, तलाउ वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ ।

पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवा वा माटोले शिवलिङ्ग स्थापना गरिन्छ । तिल, जौ, कुश, अक्षता, बेलपत्र, जनै, सुपारी, पान, धूप, दीप, फलफूल र नैवेद्यको व्यवस्था गरिन्छ । त्यसपछि “आजदेखि म एक महिनासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु” भनी दृढ सङ्कल्प गरी व्रत सुरु गरिन्छ ।

व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान गरी नित्यकर्म गर्नुपर्ने मान्यता छ । बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ पुनः ध्यान गर्ने परम्परा रहिआएको छ । व्रत बस्नेले झगडा नगर्ने, दुर्वचन नबोल्ने, नकारात्मक सोच नराख्ने र असत्य मार्गबाट टाढा रहने प्रयास गर्नुपर्दछ ।

व्रतको क्रममा मासिक धर्म (रजस्वला) भएमा शास्त्रीय नियमअनुसार पाँच दिनसम्म पूजा स्थगित गरी शुद्ध भएपछि पुनः पूजा सुरु गर्नुपर्ने व्यवस्था छ, जसलाई धार्मिक शुद्धता र अनुशासनको प्रतीक मानिन्छ ।

व्रत अवधिभर दीप, कलश, गणेश, शिव र श्रीस्वस्थानी माताको पूजा गरिन्छ । वैदिक मन्त्रोच्चारणसहित पूजा गर्दा मन, वचन र कर्मले जानी–नजानी गरिएका पाप नाश भई आत्मा शुद्ध हुने विश्वास छ । व्रतालुहरूले यस लोकमा सुख, शान्ति र समृद्धि तथा मृत्युपछि स्वर्ग प्राप्तिको कामनासमेत गर्ने परम्परा रहेको पाइन्छ ।

समापन विधि र विशेष पूजा

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफूललगायत १०८ सगुनसहित नाना उपचार तयार गरिन्छ । आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूप–दीप, नैवेद्य, वस्त्र र भेटी अर्पण गरिन्छ ।

पूजा सम्पन्न भएपछि अर्घ र प्रसाद निकालेर अष्टोत्तर विधिअनुसार सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान र आठ कुड्का सुपारी सगुनसहित पतिलाई दिने, पति नभए छोरालाई, छोरो पनि नभए मित छोरालाई दिने चलन छ । ती पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो, त्यो पूरा होस् भनी खोलामा बगाइदिने शास्त्रीय विधान छ । सय रोटी व्रतालुले फलाहार गर्ने र राति जाग्राम बस्नुपर्ने उल्लेख शास्त्रमा गरिएको छ ।

श्रीस्वस्थानी व्रत सर्वप्रथम पार्वतीले श्रीमहादेवलाई पति रूपमा प्राप्त गर्न लिएको मानिन्छ । व्रतको प्रभावले उनको मनोकामना पूरा भएपछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाई पाताल लोकमा दुःखीहरूलाई पनि विधिपूर्वक श्रीस्वस्थानी व्रत कथा गर्न आज्ञा दिएको कथन पाइन्छ ।

सप्तऋषिहरू रसातल पुगी दुःख भोगिरहेका नागिनीहरूलाई व्रतको विधि बताएपछि उनीहरूले व्रत लिँदा वर्षौंदेखि हराइरहेका नागहरू घर फर्किएको कथा उल्लेख छ ।

त्यसपछि गोपिनी तथा गोमा ब्रह्माणीले श्रीस्वस्थानी व्रत लिएको प्रसंग आउँछ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको, शिवशर्माको निधनपछि छोरा नवराज बाबुको खोजीमा हिँडेको र लामो समयपछि नफर्किएपछि गोमाले व्रत लिँदा व्रत सकिएको दिन नवराज घर फर्किएको कथा वर्णन गरिएको छ । पछि नवराज लावण्य देशका राजा बनेको उल्लेख पाइन्छ ।

लावण्य देशकी रानी चन्द्रवतीसँग सम्बन्धित कथामा पनि श्रीस्वस्थानी व्रतको प्रभावले पुनः स्वास्थ्य लाभ भई रानी बनेको प्रसंग उल्लेख छ ।

काठमाडौँको उत्तर–पूर्व क्षेत्रमा पर्ने शाली नदीमा माधवनारायणको एक महिना लामो मेला लाग्ने गर्छ । माघ महिनामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट लाखौँ भक्तजन आउने गर्दछन् । माघ महिनामा स्नान गर्दा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।