April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
Trending

अब राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ !

1.4K

सुजता बराल

२०८२ पुष १९

काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा नवयुवा (जेनजी) पुस्ताको विद्रोह पश्चात मुलुक अहिले निर्वाचनमा होमिएको छ । नेपाली जनताको पटक–पटकको आन्दोलन र बलिदानी खेर जान नदिन नेपाली राजनीतिको पुस्तान्तरण र रुपान्तरण जरुरी छ । विगतका आन्दोलनको अग्र मोर्चामा रहेका युवा राजनीतिक लाभबाट भने सधैँ बञ्चित भए । यसपटकको जेनजी आन्दोलनले युवाहरु आफै किङ मेकर बनेका छन् ।

आफनो अधिकारका लागि आन्दोलन गरी २४ घण्टामै सत्ता पलट गरिदिए । त्यतिमात्र होइन, विभिन्न सिरामा विभक्त बैकल्पिक राजनीतिक दल र शक्तिलाई एक ठाँउमा ल्याउन समेत मुख्य भूमिका खेले । देशको आवश्यकता र जनचाहानालाई पुरा गर्न कुनै कसर बाँकी नराखेर लागि परेका छन् । यसैसन्दर्भका नेपाली राजनीतिमा युवाले खेलेको भूमिका र युवा सहभागिताको विषयमा यस आलेखमा चर्चा गर्न खोजेको छु ।

स्थानीय निर्वाचनमा बहुसंख्यक युवा उम्मेदवारको रुपमा सामेल भए । २१ देखी ४० वर्षसम्मको उमेर समूहलाई आधार मान्दा झण्डै ४१ प्रतिशत युवा निर्वाचित भए । त्यसमध्ये ३८७ जना स्वतन्त्र युवाले जित हासिल गरे । काठमाडौ महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाको नेतृत्व स्वतन्त्र व्यक्तिले गरिरहेका छन् ।

काठमाडौंमा बालेन र धरानमा हर्कको शान्दार जितले नेपाली युवालाई राजनीतिमा उत्साहित गरेको छ । परम्परागत राजनीतिक दल र नेतृत्व प्रति आम नागरिकको निराशालाई आशा जगाउन युवाको उपस्थिति आवश्यक छ । दलिय सिन्डिकेटलाई तोड्न स्वतन्त्र युवा र दलमा रहेका सचेत युवाले हस्तक्षेप गर्ने अहिले उपयूक्त समय हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन र रूपान्तरणका अग्रदूत तथा परिवर्तनका सम्वाहक शक्ति हुन् ।

राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके विश्वब्यापी लोकलन्त्र बलियो हुन्छ । विश्वव्यापी रुपमा युवा मतदाताको तथ्याङ्कलाई नियाल्दा २० देखि ४४ वर्ष उमेरका मानिसहरु ५७ प्रतिशत छन् । संसदमा युवा सहभागिता निकै कम छ । दुईसय पच्चहत्तर सदस्यीय प्रतिनिधि सभामा ४० वर्षमुनिका २८ युवा र ६० वर्ष माथिका ८८ जेष्ठ नागरिक छन् । प्रत्यक्षमा भन्दा समानुपातिक प्रणालीबाट युवा संसदमा पुग्न सफल भए ।

रोचक के छ भने ७१.४२ प्रतिशत युवा समानुपातिकबाट आएका हुन् भने ७१.५९ प्रतिशत जेष्ठ नागरिक प्रत्यक्ष जितेर संसंद पुगेका छन् । यस तथ्यले के कुराको संकेत गर्छ भने अझैपनि संसदिय निर्वाचनमा नबयुवाहरुलाई निर्वाचन जितेर आउन गाह्रो देखिन्छ । निर्वाचनमा हुने अस्वस्थ प्रतिस्प्रर्धा एवं पैसा र पावरको चलखेलले नबयुवाहरुलाई निराश बनाएको छ । तर अहिले केही आशाको सञ्चार भएको छ ।

जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारले तोकिएको मिति फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सकेमा बहुसंख्यक युवा पुस्ता संसदमा हुनेछन् । पुराना राजनीतिक दलहरुको असफलता र निराशाले गर्दा नयाँ राजनीतिक शक्ति प्रतिको आशाले युवापुस्तामा राजनीतिक प्रतिको जागरण फैलिएको छ ।

। संसारको सबभन्दा उदाहरणीय नमुना इक्वडर, फिनलाण्ड, नर्वे र सुडेनमा ३० वर्ष मुनीका १० प्रतिशत युवाले संसदमा प्रतिनिधित्व गर्दछन् । विकासका विभिन्न मुद्दाहरुमा युवाहरुको विशेष प्रभाव र भुमिका हुन्छ । साथै युवाको उपस्थितिले राजनीतिक स्थितिहरुमा पुरातनबादी मनोबृत्ति परिर्वतन गर्न सक्छ । युवाहरुलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशिलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । युवाहरुको सक्रियताले सामाजिक आन्दोलनले गति लिन सक्छ ।

विश्वभरी युवा परिचालन एक पक्ष महत्वपूर्ण छ, सरकारलाई सही दिशा निर्देश दिन तथा लोकतन्त्रको संस्थागत विकास गर्न । नेपालमा सामाजिक मुद्दाहरुमा स्वतन्त्ररुपमा युवाले सडक संघर्ष गर्दै आएका छन् । इन अफ इज इन अफ देखी अकुपाई बालुवाटार सम्म थुप्रै अभियानहरुले सडक मार्फत सरकारलाई दवाव दिए तर जेनजी आन्दोलनले सरकार नै ढालिदियो ।

राजनीतिमा युवा सहभागिता बहसहरु परम्परागत छन् । राजनीतिक कार्यक्रम आफ्नो चुनावमा भन्दा मतदाता र कार्यकर्ताका रुपमा थप भूमिका केन्द्रित गर्न चाहान्छन् । तर सहभागितामा आधारित लैगिक समानता युवाहरुको जनसंख्या अनुसारको उपस्थितिले मात्र सबै नागरिकाको हित गर्दछ । युवाहरुलाई राजनीतिमा संलग्न गर्दा संख्यात्मक तथा गुणात्मक दुबै हिसावले विश्वलाई नै लाभ हुन्छ । जब युवा राजनीतिमा आउँदैन तबसम्म युवा नेतृत्व स्थापित हुदैन ।

चुनाव लडेर संसदमा नपुगेसम्म युवाको मुद्दा कसैले सुन्दैन । जसको सवाल उसको नेतृत्व हुनुपर्दछ । संविधानमा र कानुनमा त धेरै कुरा लेखिएका छन् । व्यवहारमा हेर्ने हो भने कार्यान्वयन फितलो छ । युवा, महिला, तेस्रो लिंङ्गी, आदीवासी जनजाती, मधेसी, दलित, अल्पसंख्यक नागरिकहरुको हक अधिकार सुनिश्चितताका लागि सामूहिक आवाज बुलन्द गर्नु जरुरी छ । एक थुकी सुकी सय सुकी नदी भने जस्तो सबैको सामुहिक प्रयत्न भयो भने विग्रेको राजनीतिकलाई सही ठाँउमा ल्याउन सकिन्छ । राजनीति दलहरुलाई जनताप्रति उत्तरदायी बनाउन दुईवटा विधि उपयूक्त हुन्छ ।

एक दलहरु भित्र रहेका युवा नेताले पार्टी भित्र हस्तक्षेप गर्ने अर्को क्षमता र योग्यता भएका युवाले उम्मेदवारी दिई बाहिरी रुपमा हस्तक्षेप गर्ने । युवाहरुको हस्तक्षेपले मात्र पुरानो पुस्ता राजनीतिबाट अवकाश लिन सक्छन् । मुलुकको नीति निर्माण हुने संसदमा युवा उपस्थितिले राजनीतिलाई शुद्धिकरण गर्न योगदान गर्छ ।

राजनीतिक दलले पनि युवालाई अवसर दिन कन्जुसाई गर्नु हुर्दैन । युवालाई राजनीतिक मार्फत देश विकासमा सहभागि गराउन सके मात्र विकास र समृद्धि सम्भव छ । युवा उम्मेदारलाई निर्वाविचित गर्न सके नेपाली राजनीतिमा युवा नेतृत्व स्थापित हुने यो सुर्वण अवसर पनि हो ।

युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरुमा उनीहरुको सहभागिता र नेतृत्व कस्तो छ त्यसमा निर्भर गर्दछ । विश्व इतिहासलाई हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद निर्वाचित हुदाँ १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छि सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कटमुलकी म्हाहारी ब्लयाक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् ।

न्यूजिल्याण्डबाट लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमा पार्टी प्रमुख हुदै २०१७ अगष्टमा न्यूजिल्याण्डको तेस्रो महिला तथा न्यूजिल्याण्डको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यस्तै फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल माक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए । क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने ।

फिनल्याण्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन भने आफ्नो क्याविनेटमा ३५ वर्षमुनीका पाँच जना मन्त्रीपनि नियूक्त गरिन । बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरे । विश्वको सबैभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अष्ट्रियाका चान्सलर ३१ वर्षका हुन । विश्व राजनीतिमा रकस्टार युवानेता जस्टिन, चार्ली, इमानुअल, ज्यासिन्डा र सनाना जस्ता युवा नेताको खाँचो छ ।

विकास र समृद्धिका युवा जनसंख्या महत्वपूर्ण मानिन्छ । अहिले नेपालमा युवा जनसंख्या लाभांसको समयमा छ । यो देशका लागी निकै राम्रो अवसर हो तर विडम्बना नेपाली युवा विदेशी भूमीमा श्रम र पसिना खर्चिरहेका छन । जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ । अमेरिका, क्यानडा, नर्वे, फिनल्याण्ड, डेनमार्क, न्यूजिल्याण्ड लगायत देशले युवाहरुलाई विकासमा गतिविधिमा सहभागी गराई समृद्धिमा पुगेका हुन ।

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर समालेका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए । बर्तमान पार्टी सभापति सभापति शेर बहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुदाँ ४८ वर्षका थिए । उनी पाँचौ पटक देशको प्रधानमन्त्री भएर पनि पार्टी नेतृत्व छोड्ने मनस्थितिमा समेत छैनन् ।

आजिवन नेतृत्वमै रहने हो भने युवाले कहिले अवसर पाँउला ? कांग्रेस पार्टीमा दोस्रो पुस्ताका नेता समेत ४५ बर्ष माथिका छन । तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्वको हालत पनि त्यस्तै छ । नेकपा एमालेका मदन भण्डारी ३८ वर्षको उमेरमा नै पार्टी महासचिव बनेका थिए भने माधव कुमार नेपाल ४० वर्षमा पार्टी महासचिव भइसकेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली युवा उमेरमै पार्टीको महत्वपूर्ण पदमा पुगिसकेका थिए । दशबर्षे जनयुद्ध नेतृत्व गरी राष्ट्रिय राजनीतिको मुलधारमा आएका प्रचण्ड ३५ वर्षमा पार्टीको सर्वोच्च नेता भइसकेका थिए ।

इतिहास देखी वर्तमान कालखण्डमा नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ । युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरी सक्ता र शक्तिमा पुगेपछि बाजुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँपुस्ताको लागी बाटो जाम गराइराखेको छ । बादलमा जाँदीको घेरा भनेजस्तै केही आशाका संकेत पनि छन् । स्थानीय तह संसदिय निर्वाचनमा युवा सहभागिता र नेतृत्व दुवै हिसावले राजनीतिमा युवा सहभागितालाई अर्थपुर्ण रुपमा लिन सकिन्छ ।

राजनीतिमा युवा सहभागिता र नेतृत्व फरक कुरा हो । अहिले नेपालको राजनीतिकमा आलोचनात्मक चेत भएका युवा जमात निकै कम छ । देशमा नायक होइन कार्यकर्ता मात्र जन्मिए । राजनीतिक पार्टीहरुमा हस्तक्षेपकारी भुमिका खेल्ने युवा पंक्ति छैन । युवा नेताहरु पनि बुढा नेता पछि आफ्नो पालो कहिले आउँला भनेर कुरेर बसेका छन् ।

राजनीतिमा रचनात्मक बहस शुन्य प्राय छ । राजनीतिमा एक किसिमको सिण्डिकेट हाबी छ । क्षमता भन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ । पछिल्लो चरणमा त राजनीति व्यापारीहरुको हातमा पुगेको छ टिकट किनबेचका लागि । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले स्वच्छ छवी भएको व्यक्ति भेटन गाह्रो छ ।

हामी कहाँ तीन किसिमका युवा जमात छ । एक किसिमका युवा जो दैनिक गुजारा र परिवारको भरणपोषणकै लागी काममा व्यस्त छ । दोस्रो मध्यमार्गी युवा कोही अवसरको खोजीमा विदेशीएका छन् त कोही देशमै संम्भावनाको खोजी गर्दै छन् । तेस्रो उच्च बर्गिय केही युवा कि ठुला विजनेसमा सहभागि छन कि विदेश पलायन भएका छन् । नेपाल बनाउने नेपालीले नै हो । कोही अमेरिका र युरोपबाट आएर बनाइदिने होइन ।

हाम्रो सोचाइ र व्यवहार परिर्वतन नभए सम्म राजनीति परिर्वतनको कुरा कल्पना मात्र हुनेछ । राजनीतिक दलमा सहभागी युवाहरु पनि बैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सकेका छैनन् । युवाहरुले विकल्प प्रस्तुत गर्न नसक्दा हजुरबुवा उमेरका नेताबाट शासित हुनु परेको छ । लोकतन्त्रलाई संस्थागत गर्न राजनैतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास गर्न जरुरी छ ।

सहभागितात्मक निर्णय प्रकृया, आर्थिक पारदर्शिता, जवाफदेहिता, नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधार स्तम्भ हुन् । विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता नागरिकका आधारभूक्त आवश्यकक्ताहरुमा राज्यलाई जिम्मेवार युवाहरुले दवाव दिनुपर्दछ ।

समाजका सबै वर्ग, क्षेत्रका नागरिकहरुलाई राज्यका हरेक तहमा समान सहभागिता सुनिश्चित गर्दै स्रोत साधनको समुचित वितरण गर्न सके न्यायपुर्ण समाजको निर्माण हुन्छ । मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान र सार्थक सहभागिता आजको आवश्यकता हो ।

युवाहरुको सहभागिताले राजनीतिलाई सहि दिशानिर्देशन गर्न टेवा पुर्याउदँछ । युवा भविष्यका कर्णधार मात्र होइनन् बर्तमानका साझेदार पनि हुन भन्ने हेक्का राख्नु पर्दछ । राजनीतिक दलले युवाहरुलाई परिचालन मात्र होइन उनीहरुलाई उचित अवसर र जिम्मेवारी समेत दिनुपर्दछ । जनसंख्याको आधारमा राज्यका हरेक तहमा युवाहरुको प्रतिनिधित्व र पहुँच सुनिश्चितका लागी खबरदारी आवश्यक छ ।

हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छेले अवसर पाउने व्यवस्था मिलाउनु पर्दछ । नेतृत्व राम्रो भए मात्र नीति राम्रो बन्छ र कार्यान्वयन पनि सहज हुन्छ । राजनीतिलाई सहि दिशा निर्देश गर्न दुरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यक्ता पर्दछ । नेपालमा नीतिको भन्दा नेतृत्वको समस्या छ, नेतृत्वको अर्कमण्यता, दुरदृष्टि र स्पष्ट भिजन नहुदाँ देश विकास हुन सकेन ।

युवालाई विभिन्न बाद र विचारमा विभक्त गरी नेताहरुले आफ्नो राजनीतिक फाइदाको लागि उपयोग गरिरहे । हामी युवा पनि परिचालित भइरह्यौ । आन्दोलन गर्यौ र त्यसको प्रतिफल कहिल्यै पाइनौं । देशमा गणतन्त्र आयो, शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको अवस्था परिर्वतन भएन । नेताहरुको जीवनशैलीमा परिर्वतन आयो आलिशान घर बंगला भए तर युवाहरु आफ्नो जीविकाकै लागि विदेशीनु पर्यो ।

दलित अझै अछुत हुनुपर्ने, मधेशी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरुले सधै रजाई गर्ने स्थिति भयो । आम सर्वसाधारण नागरिकले राज्यको अनुभूक्ति गर्न सकेनन् । त्यसैले सामाजिक न्याय सहितको समतामुलक समाज निर्माण गर्न युवाले नेतृत्व गर्नुपर्दछ ।

– लेखक नेपाल युवा संस्था सञ्जाल (आयोन) की अध्यक्ष हुन् ।