April 21, 2026, Tuesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

सुदनको गोर्खा यात्रा : गोर्खाबाट चुनाव लड्ने संकेत

1.4K

कल्की संवाददाता
२०८२ मंसिर २७

गोरखा – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गत साता आफ्नो जन्मभूमि गोरखा पुगे, जहाँ स्थानीय बासिन्दाले उनलाई विशेष स्वागत गरे। गाउँको परिवेश बुझ्न र आफन्त तथा समुदायसँग भेटघाट गर्न गएका सुदनलाई गोर्खा बजारमै युवा तथा गाउँलेहरूले उत्साहपूर्वक स्वागत गरे। सुदनका निकट व्यक्तिहरूका अनुसार, वातावरण अनुकूल भए आगामी चुनावमा उनी गोर्खा क्षेत्र नं. १ बाट उम्मेदवार बन्न सक्ने तयारी गरिरहेका छन्, जहाँ हाल नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी छन्।

गोरखा भ्रमणलाई स्थानीयसँग पुनः जरा जोड्ने, भावनात्मक सम्बन्ध बलियो बनाउने र सम्भावित राजनीतिक अभियानको प्रारम्भिक चरणका रूपमा हेरिएको छ। गाउँ पुगेपछि सुदनले आफन्त–गाउँलेलाई छेउमा राखेर आफ्नो नागरिकता विवादबारे उठेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिए। उनले स्पष्ट शब्दमा भने, “मलाई भारतीय, तिब्बती, अमेरिकन एजेन्ट भनिन्छ, तर यो हो मेरो गाउँ, मेरो परिवार, मेरो चुमनुब्री।” उनले भविष्यमा यस्ता आरोप लगाउनु अघि “१० पटक सोच्न” चेतावनी पनि दिए।

तीन दिने गोरखा बसाइमा सुदनले स्थानीय समस्या सुने, दुर्गम बस्तीहरू घुमे र बाटोघाटो तथा प्रशासकीय भवन नबनेको गुनासो सुनेपछि, मन्त्रालयस्तरका अधिकारीहरूलाई फोनमार्फत तत्काल गुनासो टिपाइदिए। स्थानीयले यसलाई सकारात्मक रूपमा लिएर “यति काम गर्न सक्ने मान्छे भए किन भोट नहाल्नु?” जस्ता प्रतिक्रिया जनाए। केहीले त जेनजीको माग पूरा भए चुनावमा उठे सुदनलाई नै भोट हाल्ने बताएका छन्।

भ्रमणका क्रममा उनले गोर्खा दरबार पुगे, जहाँ पृथ्वीनारायण शाहसँग सम्बन्धित ऐतिहासिक स्थानबाट ‘एकताको सन्देश’ दिन प्रयास गरेझैँ देखियो। स्थानीय युवाहरूले राष्ट्रिय झन्डा काँधमा हाली सुदनसँग फोटो खिच्ने भीड लगाएका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बने। गाउँमा पुगेपछि आफूलाई “आफ्नै छोरा” जस्तै मानिएको प्रतिक्रिया पाएपछि सुदन भावुक बने।

यस्तै, नागरिकता विवादबारे उठेको भ्रम चिर्न उनले वडाध्यक्षसमक्ष औपचारिक उजुरीसमेत दिए र वडाध्यक्षले मिडियामै सुदन “नेपाली नागरिक नै हुन्” भनेर स्पष्ट रूपमा बोले। सुदनले आफ्नी फुपूसँग पनि गफ गर्दै अनुमोदन गराए, जसले पनि सुदनकै गाउँ–घर भएको पुष्टि गरिन्।

भ्रमणमा साथ रहेका सदस्यहरूका अनुसार, सुदनले गोर्खामा समर्थन आधार बलियो बनाउने रणनीति लिएका छन्। जेनजी आन्दोलनका माग पूरा भए मात्र चुनावमा सहभागिता जनाउने उनको अडान छ। सम्भावित क्षेत्रका रूपमा गोर्खा–१ नै पहिलो रोजाइ हुने खुलासा उनले गरेका छन्। स्थानीय नागरिकहरू पनि उनको नेतृत्वप्रति आशावादी देखिन्छन्, जसले राजनीतिक वातावरणलाई नयाँ मोड दिएको छ।

गोरखा बसाइपछि सुदन पोखरा हुँदै काठमाडौं फर्किए र हाल वैकल्पिक राजनीतिक शक्तिलाई एकजुट बनाउन सक्रिय देखिन्छन्। कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेसँगको भेटघाटले पनि उनी वैकल्पिक फ्रन्ट निर्माणतर्फ लागेका संकेत दिन्छ। जेनजी–सरकार सहमति भएपछि उनी अझ ढुक्क भएको र राष्ट्रपति हस्ताक्षरपछि मात्रै चुनावी अभियानमा खुला रूपमा जाने बताएका छन्।