June 18, 2026, Thursday
२०८३ असार ४
Nepal 1:37:26 pm
Trending

समानुपातिक उम्मेदवार आवेदनबाट रास्वपाले उठायो ८१ लाख २५ हजार

1.5K

कल्की संवाददाता
२०८२ पुष ४

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार बन्न चाहने आकांक्षीहरूबाट हालसम्म ८१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ। पार्टीले समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन आह्वान गरेको थियो।

रास्वपाले प्रति आवेदक २५ हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो। पार्टीका प्रवक्ता मनिष झाले बिहीबार (पुस ३) सार्वजनिक गरेको विवरणअनुसार मंसिर मसान्तसम्म ३२५ जनाले आवेदन दिएका छन्। ती आवेदनबाट संकलित कुल रकम ८१ लाख २५ हजार रुपैयाँ पुगेको छ।

बुधबार र बिहीबार बसेको रास्वपाको केन्द्रीय बैठकले आवेदन लिने प्रक्रिया निरन्तर जारी राख्ने निर्णय गरेको छ। प्रवक्ता झाका अनुसार,
“प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म ३२५ आवेदन प्राप्त भएको र आवेदन प्राप्त हुने क्रम जारी नै रहँदा, प्राप्त आवेदकहरूको अगाडिको प्रक्रिया प्रारम्भ गर्दै जाने निर्णय गरिएको छ।”

उनका अनुसार पुस ५ गते सातै प्रदेशमा आवेदकहरूलाई छलफलका लागि आमन्त्रण गरिने छ। छलफल सहजीकरणका लागि समानुपातिकतर्फ आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरिएको छ।

रास्वपाले समानुपातिकतर्फ आवेदन दिएका आकांक्षीहरूले यदि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको अवस्थामा पुस ५ गतेभित्र जानकारी गराउनुपर्ने जनाएको छ। पार्टीका अनुसार समानुपातिकतर्फ शुल्क तिरेका व्यक्तिले प्रत्यक्षतर्फ उम्मेदवार बन्न थप रकम तिर्नु नपर्ने व्यवस्था गरिएको छ।

पार्टीभित्र समानुपातिक उम्मेदवारीप्रति बढ्दो चासोलाई रास्वपाको संगठनात्मक विस्तार र आगामी निर्वाचनप्रतिको तयारीको संकेतका रूपमा हेरिएको छ।