April 23, 2026, Thursday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

शेष घले दम्पती फेरि अष्ट्रेलियाका धनीहरूको सूचीमा

230

कल्की संवाददाता
२०८२ चैत्र ११

काठमाडौं । नेपाली मूलका सफल उद्यमी शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा परेका छन्। द अष्ट्रेलियन ले सार्वजनिक गरेको सन् २०२६ को सूचीअनुसार उनीहरू क्रमशः १५०औं र १५१औं स्थानमा रहेका छन्।

घले दम्पतीले लगातार १८ वर्षदेखि यो सूचीमा आफ्नो स्थान कायम राख्दै आएका छन्। उनीहरू पहिलोपटक सन् २००९ मा अष्ट्रेलियाका शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए।

उनीहरू मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का सह-संस्थापक हुन्। उक्त संस्थाले मेलबर्न र सिड्नीमा क्याम्पस सञ्चालन गर्नुका साथै विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै सेवा प्रदान गरिरहेको छ। एमआईटी अष्ट्रेलियाको प्रमुख निजी उच्च शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भइसकेको छ।

द अष्ट्रेलियनका अनुसार घले दम्पतीको संयुक्त सम्पत्ति करिब १ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ। शिक्षा क्षेत्र मुख्य व्यवसाय भए पनि उनीहरू घरजग्गा क्षेत्रमा पनि सक्रिय छन्। मेलबर्नका विभिन्न स्थानमा उनीहरूले व्यावसायिक सम्पत्तिहरू खरिद गरेका छन्, जसमध्ये धेरैमा एमआईटीका क्याम्पस सञ्चालन भइरहेका छन्।

उनीहरूको प्रमुख सम्पत्तिमध्ये मेलबर्नको सिबीडी क्षेत्रअन्तर्गत विलियम स्ट्रिटमा रहेको करिब ३,९०० वर्ग मिटर क्षेत्रफलको जग्गा पनि पर्छ, जुन सन् २००९ मा खरिद गरिएको थियो। हाल उक्त क्षेत्रमा पुरानो भवन भत्काइसकेपछि नयाँ परियोजना विकासको तयारी भइरहेको छ।

कार्यालय बजारमा आएको सुस्तताका कारण उनीहरूले आफ्नो योजना परिवर्तन गर्दै त्यहाँ लक्जरी होटल र सर्भिस अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेका छन्। सो खाली जग्गाको वार्षिक भूमि कर मात्रै करिब २० लाख डलर रहेको बताइएको छ।