June 16, 2026, Tuesday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी भारत भ्रमणमा

1.1K

कल्की संवाददाता
२०८२ मंसिर २८

विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीको भारत भ्रमण कोलकातामा अपेक्षाभन्दा बढी अव्यवस्थित बनेको छ। डिसेम्बर १३, २०२५ मा साल्ट लेक रंगशालामा आयोजित कार्यक्रममा मेस्सीलाई प्रत्यक्ष हेर्ने आशामा हजारौँ दर्शकले १२ हजार रुपैयाँसम्म तिरेर टिकट खरिद गरेका थिए। तर मेस्सी कार्यक्रमस्थलमा करिब २० मिनेट मात्रै देखिए, त्यो पनि नेताहरू, सेलिब्रिटी र कडा सुरक्षाबीच सीमित रूपमा।

मेस्सीको छोटो उपस्थितिका कारण अधिकांश दर्शक निराश बने। दर्शकहरूले मेस्सीभन्दा बढी ‘भीआईपी’ हरूलाई देख्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरे। कार्यक्रम सकिनासाथ रंगशालामा अव्यवस्था सिर्जना भयो। कतिपयले बोतल प्रहार गरे, कुर्सी तोडफोड भए र केही दर्शक मैदानमै प्रवेश गरेका थिए।

यही अव्यवस्थाबीच एउटा अनौठो दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। एक निराश फ्यानले रंगशालामा बिछ्याइएको कार्पेट (रेड कार्पेट वा टर्फ म्याट) बेरेर काँधमा बोकी बाहिर निस्किएको भिडियो सार्वजनिक भयो। पत्रकारले प्रतिक्रिया सोध्दा उनले भने, “१० हजारभन्दा बढी तिरेँ, मेस्सी देखिनँ। दिनदिनै देखिने नेतामात्र देखेँ। यो कार्पेट घर लगेर फुटबल अभ्यास गर्छु, पैसा असुल भयो।”

उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै ‘देसी जुगाड’ को उदाहरणका रूपमा चर्चा भइरहेको छ। धेरै प्रयोगकर्ताले यो घटनालाई कोलकाताको “Messy with Messi” क्षण भन्दै व्यंग्य गरेका छन्।

घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्रीले दर्शकसँग माफी मागेकी छन् भने कार्यक्रम आयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। विश्वकै महान फुटबलरको भ्रमण ऐतिहासिक बन्ने अपेक्षा गरिए पनि कोलकातामा भने यो कार्यक्रम अव्यवस्था, निराशा र भाइरल घटनाको प्रतीक बनेको छ।