कल्की संवाददाता नेकपा एमालेको केन्द्रीय सदस्य पदमा पराजित भएकी नेतृ नविना लामाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा आफू नसमेटिँदा पराजय भोग्नुपरेको बताएकी छन्। उम्मेदवारी दर्ताको अन्तिम समयसम्म प्रयास गर्दा पनि ओली समूहमा स्थान नपाउनु आफ्नो राजनीतिक यात्राको सबैभन्दा पीडादायी क्षण बनेको उनले उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै लामाले लामो समयदेखि अध्यक्ष ओलीको नजिक रहेर पार्टी काम गरेको भए पनि निर्णायक घडीमा आफूलाई प्यानल बाहिर राखिएको गुनासो गरेकी छन्। पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा बैठकमा राखेको आफ्नो मत नै बहिष्करणको कारण हुनसक्ने आशंका पनि उनले व्यक्त गरेकी छन्।
उनका अनुसार ओली समूहमा समेटिन इमानदार प्रयास भए पनि अन्ततः टिम निर्माणका बेला आफ्नो नाम नपर्नु गहिरो मानसिक चोटको कारण बन्यो। पार्टी पुनर्गठन र विद्यादेवी भण्डारीको पार्टी सदस्यतासम्बन्धी विषयमा व्यक्त गरेको धारणा नै निर्णायक बन्न गएको हुनसक्ने उनको बुझाइ छ।
लामाले महिला खुला समूहबाट उम्मेदवारी दिएकी थिइन्। उनले १,५७९ मत प्राप्त गरिन् भने केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ स्थानमा सीमित हुनुपर्यो। पार्टीको आन्तरिक निर्वाचनमा यसअघि कहिल्यै हार नबेहोरेको आफ्नो राजनीतिक जीवनमा यो पहिलो पराजय भएको उल्लेख गर्दै उनले यसले मनमा गहिरो चोट पुर्याएको बताएकी छन्।
भावनात्मक रूपमा उनले आफ्ना पिताको निधन भएको चार महिना नपुग्दै ११औँ महाधिवेशनमा सहभागी हुनुपरेको र त्यो पीडामाथि पराजयले फेरि ‘टुहुरो भएको अनुभूति’ बल्झाएको पनि उल्लेख गरेकी छन्। यस्तो छ नविना लामाको पूरा फेसबुक स्टाटस:
फेरि पनि श्रद्धेय अध्यक्षज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सिंगो केन्द्रीय कमिटीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ। आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ।
अध्यक्ष कमरेड केपी शर्मा ओलीको समूहमा अन्तिम क्षणसम्म इमानदार प्रयास गरियो, तर टिममा समेटिन सकिनँ। अध्यक्ष कमरेडप्रति मेरो गहिरो विश्वास थियो, किनकि कक्षा ६ देखि एमाले अखिलको राजनीतिमा होमिँदै काभ्रे जिल्ला कमिटी, अखिल केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्ववियु सचिव, सभापति हुँदै अखिलको उपाध्यक्ष, महासचिव र अध्यक्षसम्मका जिम्मेवारीहरू वहन गरेँ। पार्टी केन्द्रीय सदस्य र समानुपातिक सांसदको भूमिका पनि निर्वाह गर्ने अवसर पाएँ। यो सम्पूर्ण राजनीतिक यात्रा कमरेडहरूकै नेतृत्व र टिमसँग जोडिएको थियो।
तर टिम निर्माणको घडीमा त्यो टिममा मेरो नाम नरहनु मेरो मनका लागि अत्यन्त पीडादायी यथार्थ बन्यो। यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क. विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु। तर बोलेकोहरू टिममा परेको छ। मैले अभ्यास गर्न पुगेन कि???
मैले महिला खुलातर्फ उम्मेदवारी दिएँ। १५७९ मत प्राप्त गर्दै केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ स्थानमा सीमित हुन पुगेँ। पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म कहिल्यै नहारेको मेरो राजनीतिक यात्रामा यो पहिलो हार थियो, जसले मनलाई गहिरो चोट दियो। मत माग्ने क्रममा स्वास्थ्यले साथ नदिई ज्वरोका कारण विश्राम गर्नुपर्ने अवस्था आउनुले त्यो समय झनै कठिन बन्यो।
यो महाधिवेशनमा धेरै राम्राहरू हारे भने धेरै आए पनि!! यति कठिन घडीमा पनि माया, विश्वास र साहस दिएर मत दिनुहुने सबैप्रति मेरो हृदय कृतज्ञताले भरिएको छ। मेरो लागि सडकसडकमा मत माग्दै पर्चा बाँडेर हिँड्नुहुने मेरा श्रीमान्, अखिलका दाजुबहिनीहरू, काभ्रे जिल्लादेखि देशभरिका ती प्रिय कमरेडहरू सबैप्रति मुटुदेखि नमन र हार्दिक धन्यवाद व्यक्त गर्दछु।
तपाईंहरूको साथ, माया र विश्वासले मेरो खालीपनलाई फेरि आशा, आत्मबल र निरन्तर संघर्ष गर्ने हिम्मतमा रूपान्तरण गरिदिएको छ।
संघर्ष जारी छ। यात्राको अध्याय अझ बाँकी छ।







