कल्की संवाददाता काठमाडौँ – जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाड्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन्। आजपामा उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।
पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी एलिजा गौतमले आफैं सामाजिक सञ्जालमार्फत जनादेश पार्टी परित्याग गरेको र आजपाको उपाध्यक्ष बनेको जानकारी दिएकी हुन्। फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई उपाध्यक्षको रूपमा स्वागत गरेकोमा आजपा अध्यक्ष प्रभु साहप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन भएको जनादेश पार्टीमा एलिजा गौतम संस्थापक सदस्यका रूपमा केन्द्रीय सूचीमा थिइन्। गत २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन बुझाउन जाँदा उनी पनि सहभागी भएकी थिइन्। तर पार्टी गठनको करिब एक महिनामै उनले जनादेश पार्टी छाडेर नयाँ राजनीतिक यात्राको सुरुवात गरेकी हुन्।
आजपामा प्रवेशसँगै एलिजा गौतमले आफ्नो भावी कार्यदिशा र प्राथमिकता पनि सार्वजनिक गरेकी छन्। उनले पार्टीलाई सबल र जनमुखी बनाउने प्रतिबद्धता जनाउँदै विकास, सुशासन, भ्रष्टाचारविरुद्ध कठोर कारबाही, महिला सशक्तीकरण, मजदुरको हकहित, भुइँमान्छेको एजेन्डा र राष्ट्रहितलाई सर्वोपरि राखेर काम गर्ने जस्ता १० बुँदे एजेन्डा अघि सारेकी छन्।
एलिजा गौतमको यस कदमलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। छोटो समयमै पार्टी परिवर्तन गर्नु र सिधै उपाध्यक्षको जिम्मेवारी पाउनु आजपाको रणनीति र आगामी राजनीतिक समीकरणसँग जोडेर विश्लेषण भइरहेको छ।







