June 15, 2026, Monday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

आज मौसम बदलीका कारण काठमाडौँमा पनि वर्षाको सम्भावना

1K

कल्की संवाददाता
२०८२ माघ १३

काठमाडौँः पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । सोमबार रातिबाटै सुदुरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।

मौसमविद् पौडेलले भने, “पर्सी बुधबार काठमाडौँमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन ।” यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए । यो प्रणाली सोमबारराति पश्चिम नेपालबाट प्रवेश गर्ने र आज (मङ्गलबार) दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ । त्यसपछि आजराति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ । त्यसले काठमाडौँमा समेत बदली हुने र बुधबार रातिदेखि विस्तारै हट्दै जाने पनि पौडेलले बताए।

यस्तो छ चेतावनी

विभागले आज राति सार्वजनिक गरेको मौसम बदलीसम्बन्धीको विवरणमा माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जनरचट्याङसहित वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । त्यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरिएको छ ।