April 18, 2026, Saturday
२०८३ बैशाख ५
Nepal 1:37:26 pm
Trending

आईटीएफ जुनियर टेनिस : नेपाली गर्ल्स टिम छनोट

210

कल्की संवाददाता
२०८३ बैशाख ४

काठमाडौँ — नेपाली गर्ल्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा उपविजेता बनेको छ । ५ राष्ट्र सहभागी राउन्ड रोबिन लिगमा नेपाल दोस्रो भएको हो । नेपाली गल्स टिम अब १५–२० सेप्टेम्बरसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगितालाई छनोट भएको छ ।

दुई राष्ट्र छनोट हुने प्रावधानअनुसार भारत पहिलो स्थानमा रहेर छनोट भयो । भारतले सबै चार खेल जित्यो । भारतसँग मात्र पराजित नेपालले ३ खेल जितेको थियो । नेपालले श्रीलंका, माल्दिभ्स र पाकिस्तानलाई हरायो । दुई खेल जितेको श्रीलंका तेस्रो, एक खेल जितेको माल्दिभ्स चौथो र जितविहीन पाकिस्तान पाँचौं स्थानमा रहे ।

शुक्रबार नेपालले माल्दिभ्सलाई २–१ ले हरायो । गर्ल्स सिंगलमा नेपालकी आर्या पौडेलले लायरा उस्मा अलीलाई ६–०, ६–२ को सोझो सेटमा हराइन् । अर्को सिंगलमा माल्दिभ्सकी इस्रा इब्राहिमले नेपालकी सारा पन्तलाई ६–३, ६–३ ले हराएर खेल १–१ को बराबरी गरिन् । डबल्समा नेपालका नाइरा घले र साराको जोडीले लायरा र इस्राको जोडीलाई ६–३, ६–१ ले हराएपछि नेपालले सिंगापुर यात्रा पक्का गरेको हो । गर्ल्समै भारतले श्रीलंकामाथि ३–० को जित हासिल गर्‍यो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको ब्वाइजतर्फ भारत र पाकिस्तानले बिहीबारै एसियाली फाइनल चरणलाई स्थान पक्का गरिसकेको थियो । अन्तिम दिन फाइनलमा भारतले पाकिस्तानलाई ३–० ले हराएर विजेता बन्यो ।

ब्वाइजमा श्रीलंका तेस्रो, नेपाल चौथो, भुटान पाँचौं र माल्दिभ्स छैटौ भए । तेस्रो र चौथो स्थान निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २–१ ले हरायो । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्समा बंगलादेशबाहेक ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता थियो । विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र आईटीएफ डेभलपमेन्ट अफिसर जानेथन स्टब्सले पुरस्कृत गरे ।