कल्की संवाददाता वासिङ्टन । लामो समयदेखि जारी तनाव र सैन्य मुठभेडका बिच अमेरिका र इरानका प्रतिनिधिहरू शान्ति वार्ताका लागि शनिबार बिहान पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर इरानी अधिकारीहरूसँगको महत्त्वपूर्ण छलफलका लागि त्यसतर्फ लागेको ह्वाइट हाउसले पुष्टि गरेको छ। इरानले पनि वार्ताको इच्छा देखाएको र आफ्ना विदेश मन्त्री अब्बास अराघची इस्लामावाद पुगिसकेको जानकारी दिएको छ।
प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति ट्रम्प कूटनीतिलाई सधैँ प्राथमिकता दिन चाहन्छन् र पछिल्ला केही दिनमा इरानी पक्षबाट केही सकारात्मक प्रगति देखिएकाले यो टोली खटाइएको हो। यद्यपि इरानको विदेश मन्त्रालयले अमेरिकासँग सिधै भेट्ने कुनै योजना नरहेको र आफ्ना धारणा पाकिस्तानमार्फत अवगत गराउने बताएको छ। वार्ता सफल भएको खण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स पनि त्यसतर्फ जान सक्ने ह्वाइट हाउसले संकेत गरेको छ।
पछिल्लो समय फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले पनि रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुजमा ढुवानी प्रतिबन्ध लगाएको छ। यसका कारण विश्वभर तेलको मूल्य आकाशिएको छ र वैश्विक अर्थतन्त्रमा ठूलो धक्का लागेको छ।अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानलाई आणविक हतियार त्याग्न र त्यसको प्रमाणीकरण गर्न आग्रह गर्दै इरानका लागि यो राम्रो सम्झौता गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको बताएका छन्। उनले होर्मुज क्षेत्रमा अमेरिकाको कडा निगरानी जारी रहने र यो अझै विश्वव्यापी रूपमा विस्तार हुँदै जाने चेतावनी पनि दिएका छन्।
भित्रि रूपमा वार्ता अघि बढे पनि सार्वजनिक रूपमा भने दुवै देशले आक्रमक अडान छाडेका छैनन्। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले वार्ताका लागि आफूहरू खुला रहेको बताए पनि अमेरिकी नाकाबन्दी र धम्की मुख्य अवरोध भएको टिप्पणी गरेका छन्। उता इरानको संसदका सभामुखले भने अमेरिका र इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै स्ट्रेट अफ होर्मुज खोल्न तत्काल सम्भव नरहेको चेतावनी दिएका छन्।
दुवै देशका प्रतिनिधिहरूबिच हुने यो छलफलले युद्ध अन्त्य गर्ने र तेलको मूल्य नियन्त्रण गर्ने दिशामा कस्तो मोड लिन्छ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ। राष्ट्रपति ट्रम्पले बुधबार मात्रै वार्तालाई निरन्तरता दिन भन्दै अनिश्चितकालका लागि युद्धविराम थप गरेका छन्।







